हेटौंडा । मकवानपुरमा किसानका लागि आवश्यक रासायनिक मलको अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय हेटौडाले जानकारी दिएको छ । कार्यालयले गोदाममा युरिया र डिएपी मल मागअनुसार मौज्दात रहेको दाबी गरेको छ ।
हाल किसानका लागि आवश्यक गहुँवालीसहित तेलहन र तरकारी खेतीका लागि कार्यालयबाट मल वितरणको काम भइरहेको छ । जिल्लामा रहेका अधिकार प्राप्त सहकारी संघ/संस्थामार्फत् बिक्री वितरणका लागि मल ढुवानी भइरहेको कार्यालयका लेखा अधिकृत उपेन्द्र ज्ञवालीले जानकारी दिए । कार्यालयसँग हाल युरिया मल एक सय १८ मेट्रिक टन र डिएपी मल एक सय ३८ मेट्रिक टन मौज्दात छ ।
मकवानपुरका १० स्थानीय तहका किसानका लागि एक सय २० सहकारी संस्थामार्फत् मल बिक्री वितरण भइरहेको कार्यालयको भनाइ छ । जिल्लाका अन्य पालिकामा मत वितरणको काम भइरहे पनि राक्सिराग र कैलाश गाउँपालिका दुर्गममा रहेकाले मल वितरणमा समस्या भइरहेको छ । यसअघि कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा युरिया मल ४४२ मेट्रिक टन र डिएपी मल ३०१ मेट्रिक टन बिक्री वितरण गर्ने बताएको थियो । कार्यालयका अनुसार युरिया मल प्रतिबोरा रु ८०१ तथा डिएपी मल प्रतिबोरा रु २ हजार २५१ मा बिक्री भइरहेको छ । रासस


















