काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा सोमबार रातभर विधिपूर्वक धनुर्मास पूजा तथा आराधना गरिएको छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा तथा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि सोमबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । सोमबार रातभर धनुर्मास पूजा गरेपछि मङ्गलबार पशुपतिनाथलाई उपवास राख्ने भएकाले आज अपराह्न १२ बजेदेखि मन्दिर बन्द गरिने उहाँको भनाइ छ । उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाइ घाममा शयन गर्नुहुने धार्मिक विश्वास रहेको छ ।
यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइने र बेलुकीे शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा आरती गरिन्छ । राससको जिज्ञासामा बुधबार बिहानदेखि भने नियमित पूजा आराधना गर्ने कार्यक्रम रहेको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुली जानकारी दिन्छन् । रासस


















