काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न उनको निजी निवास ललितपुरको खुमलटार पुगेका छन्।
एमाले अध्यक्ष ओली करिब २ वर्षपछि प्रचण्ड निवास खुमलटार पुगेका हुन्। ५ पुस २०७७ मा संसद् विघटन गर्नु अगाडि तत्कालीन प्रधानमन्त्री ओली तत्कालीन नेकपाका अध्यक्ष रहेका प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। संसद् विघटनपछि दुई नेताको सम्बन्ध व्यक्तिगत रुपमै तिक्ततापूर्ण रह्यो। यद्यपि अहिले राजनीतिक परिस्थितसँगै समीकरण पनि फेरियो।
४ मंसिरमा सम्पन्न प्रतिनिधि निर्वाचनपछि दोस्रो ठूलो दल बनेको एमालेकै समर्थनमा संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन्। ७ दल सम्मेलित सत्ता गठबन्धनमा शक्ति बाँडफाँटको विषयमा छलफल जारी रहेका बेला ओली प्रचण्डलाई भेट्न बुधबार बिहान खुमलटार पुगेका हुन्।
ओलीलाई भेट्नु अगाडि बुधबार बिहान प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए। एमाले अध्यक्ष ओलीको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा दुई नेता घरको कौसीमा बसेर वार्ता गरिरहेका देखिन्छ। यसअघि ओली निवास बालकोटको बार्दलीमा दुवै नेताले हात हल्काएका थिए।
गत आइतबार प्रधानमन्त्री नियुक्त हुनुअघि बालकोटमा अन्तिम सहमति भएको थियो। त्यसपछि ओली र प्रचण्डले बालकोटको बार्दलीबाट हात हल्लाएका थिए। बालकोटको बार्दली भने २०७८ असार २८ देखि चर्चामा आएको हो। प्रधानमन्त्रीबाट बाहिरिएपछि त्यसदिन बालुवाटारबाट बालकोट पुगेका ओलीले आफ्नै निवासको बार्दलीमा उभिएर कडा अभिव्यक्ति दिएका थिए। उनले माधव नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको जनाएका थिए।


















