काठमाडाैं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले सरकारमा जाने मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ।
शनिबार बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूबारे निर्णय गर्ने जिम्मेवारी सो समितिलाई दिएको हो।
यही पुस १८ र १९ गते सो पार्टीले राजनीतिक समितिको बैठक बोलाएको छ। सोही बैठकले आवश्यक निर्णय गर्दै सरकारमा सहभागी हुने मन्त्रीहरू तय गरिने निर्णय केन्द्रीय कार्यकारिणी समिति बैठकले गरेको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए।
प्रवक्ता सुमनले भने, ‘सात दलीय संयन्त्रमा हामी सहभागी छौं। हाम्रै समर्थनले प्रधानमन्त्री चयन भइसक्नु भएको छ। यो सरकारलाई हाम्रो समर्थन छ। सरकारको न्यूनतम साझा कार्यक्रमको बारेमा पनि, त्यो सरकारमा सामेल हुने साथीहरूको बारेमा पनि त्यसको लागि अहिले समय छ। सरकारको विस्तार २९ गतेपछि नै हुने जस्तो हामीलाई सुन्नमा आएको छ। तसर्थ, पर्सीदेखि सुरू हुने राजनीतिक समितिको बैठकमा यो बारेमा थप निर्णय गर्ला।’
बैठकमा निर्वाचनको समीक्षा गर्न शिवलाल थापा नेतृत्वको ३ सदस्यीय समिति समेत बनाएको छ। तर त्यसलाई राजनीतिक समितिको बैठकले अनुमोदन गरेपछि मात्रै काम सुरू हुने पनि प्रवक्ता समुनले बताए।
‘निर्वाचनको समीक्षा भन्ने हो भने प्रत्येक जिल्लाबाट मागिएको प्रतिवेदन आइसकेको छ। अब त्यो रिपोर्ट अध्ययन गरेर त्यसलाई अझै छलफल गरेर निर्णय गर्नकै लागि केन्द्रमा पनि एउटा समिति निर्माण भएको छ। शिवलाल थापाजी त्यसको संयोजक हुनुहुन्छ’,उनले भने, ‘बाल किशोर जी र रणध्वज कन्दवा रहनु भएको समितिलाई राजनीतिक समितिले अनुमोदन गर्नेछ। उनीहरूले अध्ययन गरेर तयार पारेको प्रतिवेदनको आधारमा कारबाही हुन्छ।’
बैठकमा निर्वाचनको समीक्षा, सरकारमा सहभागी हुने मन्त्रीहरूबारे र अन्य पार्टीहरूसँग एकीकरण वा सहकार्य गरेर जाने विषयमा पनि राजनीतिक समितिको बैठकमा छलफल गर्ने एजेण्डा तय गरिएको पनि जसपाले जनाएको छ।