जारी हुने शिक्षा ऐन शिक्षकमैत्री  हुने : प्रधानमन्त्री प्रचण्ड

112

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐन छिट्टै जारी हुने जनाएका छन् । साथै, जारी हुने शिक्षा ऐन शिक्षकमैत्री  हुने उनको भनाइ थियो ।

शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताएका हुन् । साथै, उनले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको पनि बताए ।

“अघिल्लो सरकारको कार्यकालमा पनि संघीय शिक्षा ऐनका केही काम भएका छन् । तर, ऐन जारी भएन ।” उनले भने, “यसपटक संघीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा छ ।” शिक्षा ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धित अधिकांश समस्या सम्वोधन हुने पनि उनले दाबी गरे ।
“शिक्षक अस्पताल हाम्रै पहलमा अगाडि आएको छ,” प्रधानमन्त्रीले भने, “यसलाई सफल कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रै हो । यसका साथै शिक्षकहरूको सम्मानित जीवनका निम्ति हामीले केही न केही पहल लिनैपर्छ । त्यसतर्फ पनि सरकारले सोचिरहेको छ ।”

शिक्षक अस्पताल निर्माणकौ काम पनि अघि बढ्ने भन्दै प्रचण्डले भने, “अब संघीय शिक्षा ऐन अघि बढ्छ र शिक्षकमैत्री ऐन आउँछ ।” देशको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा शिक्षकहरूको अहम् भूमिका रहेभएकोमा प्रधानमन्त्रीको जोड थियो ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले सङ्गठनको पहलमा संघीय शिक्षा ऐन ल्याएरै छाड्ने बताए । सङ्गठन अब पेशागत अधिकारसँगै पेशागत जिम्मेवारीतर्फ पनि कैन्द्रीत हुने भन्दै गुणस्तरीय शिक्षा सुधारका लागि सुझाब कार्यदल नै बनाएर अघि बढ्ने बताए ।

संगठनले प्रधानमन्त्री भएकोमा प्रचण्डलाई शुभकामना तथा बधाइ पत्र दिँदै शिक्षक महासंघ र सरकारबीच भएको ५१ बुँदे सम्झौता पत्रबारे स्मरण गराएको थियो । लगत्तै प्रधानमन्त्री प्रचण्डले महासंघसँग भएको उक्त ५१ बुँदे सम्झौता अध्ययन गरी तत्कालै कार्यान्वयनमा लग्ने प्रतिबद्धता जनाएका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here