काठमाडौं । मंसिर ४ मा चुनावबाट गठन भएको प्रतिनिधिसभाको पहिलो बैठक सोमबार दिउँसो १ बजे बस्दैछ।
त्यसपछि राष्ट्रपति कार्यालयले संसदलाई जानकारी गराएको प्रधानमन्त्री नियुक्ति तथा मन्त्रिरिषद गठन सम्बन्धी पत्रहरुको व्यहोरा वाचन गरेर संसदमा सुनाउने छन्। यसमा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड पुस १० गते नियुक्त भएको व्यहोरा सुनाउनेछन्।
भोलि नै संसदले बैठकको अध्यक्षता गर्ने व्यक्तिहरुको नाम अनुमोदन गर्नेछ। प्रत्येक अधिवेशनमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने व्यक्तिका लागि अध्यक्ष मण्डलको मनोनयन गर्ने अभ्यास अनुसार सोमबार पनि त्यस्ता सदस्यहरु मनोनीत हुनेछन्।
अधिवेशनको पहिलो बैठक भएकाले सोमबार संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरुले धारणा राख्नेछन्। यसमा प्रधानमन्त्री दाहालदेखि ठूलो दलका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दनले धारणा राख्नेछन्।
त्यस्तै सोमबारको बैठकको अन्तिममा तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पारित हुनेछ। २०४८ सालमा गोरखा २ बाट निर्वाचित मैयाँदेवी श्रेष्ठ, माओवादीबाट २०६४ सालमा ओखलढुंगा २ बाट निर्वाचित बालकृष्ण ढुंगेल र २०७० सालको संविधानसभा चुनावमा कांग्रेसको समानुपातिक तर्फबाट सांसद बनेका झुलबहादुर आलेको निधनप्रति सदनले शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ।


















