अहिलेका सभामुखले पदीय मर्यादाभन्दा माथि उठेर काम कारबाहीलाई चुस्त बनाउनुपर्नेमा जोड

53

काठमाडौं । नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपसभामुखले पदीय मर्यादाबाट विचलित भएर काम गर्न नहुने बताउनुभएको छ ।

शनिबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद श्रेष्ठले विगतमा पदीय मर्यादाबाट विचलित भएर पार्टीगत रूपमा सभामुखहरूले काम गरेको भन्दै अहिलेका सभामुखले पदीय मर्यादाभन्दा माथि उठेर संसद्को काम कारबाहीलाई चुस्त बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘दलीय व्यवस्थामा दल बलियो हुनुपर्छ । तर सभामुखजस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने भूमिका खेल्नु हुँदैन । फुट्न लागेको दल छ भने पनि बचाउने हो । फुटाउन सघाउने होइन । भोलि पनि त्यस्तो दिन आउनसक्छ, सभामुखज्यू तपाई कसैको स्वार्थमा नआउनुहोला, यदि जानुभयो भने इतिहासले त्यसलाई कालो धब्बा लगाएर मात्रै सम्झिनेछ, म यहाँ कसैप्रति लक्षित गर्न चाहन्न ।’’

उहाँले विगतमा सभामुखबाट दल फुटाउने भूमिका खेलेको भन्दै अबको सभामुखबाट कुनै पनि त्यस्तो अपेक्षा नरहेको र गर्नुहुन्न भन्ने विश्वास रहेको बताउनु भयो । श्रेष्ठले सभामुख र उपसभामुखले संसदमा एउटा रेफ्रीको भूमिका निभाइ निष्पक्ष र स्वतन्त्र रूपमा सदन सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।

‘‘पुराना सभासद्को नाम पनि बिर्सिसकेँ । तर फर्केर हेर्दा नेपाल कम्युनिष्ट पार्टी एमालेलाई तत्कालीन स्थितिमा एमालेबाट माले बनाउन अरू कसैले भूमिका खेलेन, सभामुख जस्तो गरिमामय पदबाट त्यो भूमिका खेलियो, सभामुख र उपसभामुख सिङ्गो हलको रेफ्री हो । दायाँ र बायाँको बीचको आसन हो । त्यो आसन दायाँतिर वा बायाँतिर हेरेर बडील्यांग्वेज नदिनुस् । सिधा नजर लगाउनुस् । दुई वटा आँखा दुईतिर लगाउनुस् ।’’

सांसद श्रेष्ठले सत्ता गठबन्धनबाट उपसभामुख पदकी साझा उम्मेदवार इन्दिरा रानामगरलाई उपसभामुखमा जिताउन पनि आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here