राजेश्वर नेपालीः मुर्झाएको छैन क्रान्ति चेत

30

जनकपुरधाम ।
दुःख पाए, एक दिन सुख पनि पाउँछ,
भोको, नाङ्गो, गरिबले जय–जय मनाउँछ ।
जोर, जुलुम समाप्त भई बन्धुत्व बनाउँछ,
निरङ्कुशी शासन भए, प्रजातन्त्र आउँछ ।
(विसं २०२१ फागुन ७)
…..

शान्ति छ को यहाँ, छैन कहाँ क्रान्ति,
कलह, द्वेष, इर्ष्या र अब व्याप्त छ महाभ्रान्ति । (विसं २०२६ फागुन २२)

घनघोर पञ्चायतमै यस्तै र अझ योभन्दा क्रान्तिकारी कविता र विचार लेख्न कहिल्यै थाक्नुभएन राजेश्वर नेपाली । देखेको, भोगेको र बिझेको कुरा लेखेकै आधारमा जेलनेल, यातना र तमाम प्रातडना सहनुभयो तर लेख्न र बोल्न छोड्नुभएन । दुई वर्षयता वरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी नेपालीले लेख्नु भएन र केही समय त बोल्नुसक्नु पनि भएन ।

प्रोस्टेड क्यान्सरबाट ग्रस्त भएपछि ७९ वर्षीय नेपालीको पछिल्लो दुई वर्ष उपचारकै लागि अस्पताल धाउनमै बित्यो । रोगले सताउन थालेपछि एक वर्षमा छ पटक त भारतको राजधानी नयाँदिल्ली धाउनुपर्‍यो । उहाँ करिब एक महिनाअघि मात्रै भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गरी घर फर्किनुभएको छ ।

उहाँको उपचारमा संलग्न स्वास्थ्यकर्मी महेन्द्रप्रसाद साहले क्यान्सरको निदान भए पनि स्वास्थ्य अवस्था निकै नाजुक रहेकाले घरमै हेरचाह गर्न सुझावसहित अस्पतालले नेपाल पठाएको थियो । अहिले स्वास्थ्यमा करिब ४०/४५ प्रतिशत सुधार भइसकेको साहले जानकारी दिनुभयो । “उता (दिल्ली)बाट फर्किंदा हामी सबै चिन्तित थियौँ । तर अहिले निकै सुधार हुँदै गएको छ”, साहले भन्नुभयो, “सुन्निएको शरीर, बोल्न नसक्ने, दिनमै १०/१२ पटक दिसापिसाब गर्ने, एकदमै नाजुक अवस्था । अहिले भने निरन्तर सुधार हुँदै गएको छ । अब चाँडै उहाँ हिँड्ने अवस्था बन्छ ।”

वरिष्ठ पत्रकार नेपालीका छोरा राघवेन्द्र साहले पनि बुबाको स्वास्थ्यमा निकै सुधार हुँदै गएको जानकारी दिनुभयो । उहाँले हाल देखिएको सुधारले आफूहरु निकै आशावादी बनेको बताउनुभयो । अहिले नेपालीको स्वास्थ्यप्रति चिन्ता र चासो जाहेर गर्दै दिनहुँ मानिसहरु भेट्न जान्छन् तर नेपाली भने देशको ‘स्वास्थ्य’ प्रति चिन्ता र चिन्तन जाहेर गरेर फर्काउनुहुन्छ ।

अहिले वरिष्ठ पत्रकार नेपालीको स्वास्थ्य अवस्थाबारे चिन्ता राख्ने आफन्त, शुभचिन्तकलगायत सरोकारवालाहरु घरमै गएर स्वास्थ्यलाभको कामना गरिरहनुभएको छ । स्वास्थ्यलाभ गर्न पुग्नुभएका नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मोनिका झा पनि उहाँको स्वास्थ्यमा सुधार भएर पुनः आफ्नो बौद्धिक लेखन कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुहुन्छ । “शरीर हो, समस्या त हुन्छ”, झा भन्नुहुन्छ, “तर उहाँको स्मरणशक्ति उस्तै छ, चाँडै नियमित काममा फर्किनुहुन्छ भन्नेमा हामी निकै आशावादी छौँ ।”

स्मरण दुरुस्तै, जुझारु चेत उस्तै
आफ्नै निवासभित्र एउटा कोठामा पल्टिरहेको छ प्रजातान्त्रिक आन्दोलनको जिउँदो इतिहास । समयको बहाव, समकालीन समाजलाई ठीक समयमा ठीक ढङ्गले बुझ्ने र त्यसमा अविचलित रहने त्यो स्वभाव, सामान्य मस्तिष्कभन्दा पहिले नै सोच्ने र मुखरित गर्ने त्यो जुझारु चेतले त्यहाँ पुग्ने जो कोहीलाई पनि भावुक बनाउँछ । प्रजातान्त्रिक आन्दोलन, साहित्य र पत्रकारिता, देशभित्रका सिमान्त आवाज, भिन्न अस्तित्वहरुको समन्यायिक समानताको वकालत गर्ने, देशभित्रै विशिष्ट एवम् फरक पहिचान बोकेको ‘मधेस’ को आत्मसम्मान खोज्ने अकण्ठ आत्मविश्वासका उहाँ सबैका प्रेरणापुञ्ज हुनुहुन्छ ।

दाउरा सुरुवाल मात्र होइन, धोतीलगायत विविध भेषभूषा, विविध भाषाभाषी, पहाड र पहाडी मात्रै होइन, मधेस र मधेशीमा पनि नेपाल र नेपालीपनप्रति उत्तिकै गौरवबोध, राष्ट्रप्रेम र राष्ट्रवाद छ भनेकै, लेखेकै भरमा राज्यसत्ताको ‘संस्थापन पक्ष’ ले सधैँ बागी करार गरेको एक योद्धामा आज पनि उस्तै जुझारुपन, उस्तै चिन्तन र चेतना, उस्तै भीष्म प्रतिज्ञा ।

शरीर हो, जुनसुकै बेला गल्न र ढल्न सक्छ । यो कठोर तर शाश्वत सत्य हो । नेपालीको भौतिक शरीर पनि शिथिल छ अहिले । तर उहाँको कुरा सुन्दा लाग्यो, त्यो क्रान्ति चेत र स्वाभिमान अझै मुर्झाएको छैन । राणाविरोधी आन्दोलन, मुक्तिवाहिनी सेनाको हुलाकी, २००७ सालका स्वतन्त्रता सेनानी बुबा स्व. रामदुलार साहको योगदान र प्रभाव, २०१८ कात्तिक १६ गतेदेखि परिवर्तनको हतियार कलमलाई बनाउने निधो र त्यसपछिका आरोहअवरोह, यातना, सङ्गत, इतिहासको सूक्ष्म पृष्ठभूमि, २०३६ सालको जनमत सङ्ग्रह, २०४२ सालको बमकाण्ड, २०४६ सालको आन्दोलन र त्यसको तयारी, यस्ता अनेक घटना, परिघटना र सन्दर्भको स्मरणशक्ति उस्तै छ उहाँमा ।

सदाबहार ‘बागी’, तीनपटक जेल र ३९ पटक हिरासत
प्रजातान्त्रिक आन्दोलन, साहित्य र पत्रकारिताको ज्ञान भएका जो कोहीका  लागि परिचित पात्र हुनुहुन्छ नेपाली । उहाँको क्रान्ति चेत, विद्रोही स्वभाव, समानता, समभाव र परिवर्तनप्रतिको निष्ठाबारे लेखिएकै, पढिएकै र सुनिएकै छ । विश्वमा क्षेत्रीयतावाद र जातिवादको जगजगी रहेको बेला शोषित, पीडित, उपेक्षित, असहाय र आवाजविहीनहरुको आवाज उजागर गर्दै राज्यलाई ध्यानाकर्षण गराउने, कलमको माध्यमबाट सिङ्गो नेपाल र मधेशलाई मुखरित गरिरहने उहाँलाई प्रेस स्वतन्त्रता सेनानी, एक कट्टर राष्ट्रवादी तर राज्यसत्ताको स्थायी ‘बागी’, परिष्कृत साहित्यकार आदि उपमा दिने गरिन्छ ।

धोतीकुर्ता, मधेशमा बोलिने हिन्दी भाषा, भारतीय सीमासँग जोडिएको भूगोलका कारण संस्थापन पक्षले सधैँ यहाँको राष्ट्रवादलाई शङ्काले हेर्ने र सौतेलो व्यवहार देखाउने गर्दथ्यो । नेपाली भने शब्द र कलममार्फत त्यसैको विरुद्धमा ‘आगो’ ओकल्ने उहाँले ‘मधेसवादी त हुँ नै तर अखण्ड नेपालवादी पनि हुँ’ भनेर समानता र सहअस्तित्वको कुरा लेख्न छोड्नुभएन । राज्यले त्यही लेखनबाट असुरक्षित महसुस गर्ने र थुन्ने गर्दथ्यो । उहाँ भन्नुहुन्छ, “म अहिंसावादी, गान्धीवादी, त्यसैले कहिल्यै बम र बन्दुकमा भरोसा रहेन”, नेपाली अहिले पनि भन्नुहुन्छ, “तर राज्यले मलाई हिंस्रक मान्ने, मेरा विचार, अभिव्यक्ति र लेखनमा हिंसा देख्ने । त्यसैले त होला थुनेको !”

नेपालीको मानसपटलमा अहिले पनि ताजै छ राजा महेन्द्रले २०१७ पुस १ मा जननिर्वाचित सरकार र संसद्लाई अपदस्थ गरेको घटना एवम् सन्दर्भ । “पुस १ पछि कांग्रेसले प्रजातन्त्र पुनःस्थापनाको सङ्घर्ष गर्ने भयो । नेता सरोजप्रसाद कोइरालाले मलाई भारतको जयनगर बोलाएर नेपाली कांग्रेसको सशस्त्र सङ्घर्षमा सहभागी बन्न भन्नुभयो”, नेपालीले सुनाउनुभयो, “तर मेरो पिताजीले गान्धीसँगको भेट र प्रभावबाट अहिंसावादी भई काम गरेकाले म बन्दुक र बमले नभई कलममार्फत क्रान्तिमा लाग्छु भनेर प्रतिबद्धता जनाएँ । तैपनि राज्यले पटकपटक थुन्यो, यातना दियो ।” रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here