काठमाडौं । नेकपा (एमाले)की सांसद एशोदा बरालले सभामुखको भूमिकामाथि प्रश्न उठाएकी छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले प्रतिपक्षी दलका सांसदहरूका कुरामा सभामुखको ध्यानाकर्षण नभएको गुनासो गरिन् ।
‘नियमावलीका नियम २१ मा शिष्टतासम्बन्धी व्यवस्था छ । सदनमा माननीयज्यूहरूले हरेक पुराना दलहरूलाई अशिष्ट व्यवहार घरिघरि बोल्दा अमानवीय व्यवहार गरिरहनुभएको छ,’ सांसद बरालले भनिन् ।
सांसद बरालले आफैँले ध्यानाकर्षण गराउँदा पनि सभामुख अर्यालले केही नभनेकोमा गुनासो गरिन् ।
‘हरेक दललाई अमानवीय व्यवहार र बाल्ने शिष्टताका कुराहरू सिकाइरनुभएको छ । उहाँहरूले बोल्ने शिष्टता के हो ? सत्तापक्ष र विपक्षी दलका माननीय बराबर हौँ । वादविवाद गर्न आएका होइनौँ । अशिष्ट व्यवहारलाई तत्काल ध्यानाकर्षण होस् । हरेक माननीयज्यूहरूले पुराना दलहरूले केही गरेनन् । यहाँ व्यवहार गलत छ,’ उनले भनिन्, ‘सदन गन्हायो भन्ने जस्ता शब्दहरु प्रयोग गरिएका छन् । यी शब्दहरु रेकर्डबाट हटाउनुपर्छ । विपक्षी दलका सांसदहरूले भनेका कुरा तत्काल ध्यानाकर्षण हुन्छन् भने सत्तापक्षका माननीयले बोलेका कुरा ध्यानाकर्षण भएका छैनन् । यो कुरा तत्काल ध्यानाकर्षण होस् ।’


















