चलनचल्तीमा रहेका नेपाली सिक्का छाप्नको लागि टक्सार मेसिन तयार

75

काठमाडौं । चलनचल्तीमा रहेका नेपाली सिक्का छाप्नको लागि टक्सार विभागले मेसिन तयार पारेको छ । राष्ट्र बैंक अन्तर्गतको टक्सार विभागले पुराना मेसिनलाई मर्मत सम्भार गरी सिक्का छाप्न सक्ने अवस्थामा पुर्‍याएको हो । विभागले परीक्षणका रुपमा चलनचल्तीको नमुना सिक्का छाप्न (बनाउन) थालिसकेको छ ।

करिब दुई दशकपछि टक्सारले नेपालमै परीक्षणका रुपमा सिक्का छाप्न थालेको राष्ट्र बैंक टक्सार विभागका निर्देशक विनोदराज आचार्यले जानकारी दिए । नेपालमा दुई दशक अघिसम्म राष्ट्र बैंकले सुन्धारास्थित टक्सार विभागबाट सबै प्रकारका सिक्का (चलनचल्तीका र सुन तथा चाँदीका स्मारिका) बनाउँदै आएको थियो । पछि राष्ट्र बैंकले चलनचल्तीका सिक्का बनाउन छोड्यो । त्यसपछि चाँदीका स्मारिका सिक्का र सुनका असर्फी मात्र बनाउन थाल्यो ।

अहिले पुराना मेसिनलाई मर्मत सम्भार गरेर चलनचल्तीका सिक्का छाप्न मिल्ने गरी बनाएर तयारी अवस्थामा पुर्‍याइएको र परीक्षणका रुपमा केही थान सिक्का छपाइ गरिएको निर्देशक अचार्यले बताए । ‘अहिले छपाइ गरिएको सिक्का परीक्षणका लागि मात्र धातुलाई सिक्काको आकार दिइएको हो । परीक्षणका लागि भएकाले ती सिक्कामा कुनै एक वा दुई वा पाँच, दश रुपैयाँ भनेर कुनै नम्बर उल्लेख गरिएको छैन,’ उनले भने, ‘पुराना मेसिनलाई मर्मत सम्भार गरेर हेर्दा काम गर्दो रहेछ कि रैनछ भनेर मात्र हेरिएको हो ।’ परीक्षण सफल भएको र राष्ट्र बैंकको उच्च व्यवस्थापनले चलनचल्तीका सिक्का नेपालमै छपाइ गर्ने भन्ने निर्णय गरेको अवस्थामा टक्सार विभाग सबै पक्षबाट तयार भएको उनले दाबी गरे ।

‘२० वर्षदेखि रोकिएको काम करिब १ महिनाको अथक प्रयासबाट टक्सार विभाग नमुना सिक्काको परीक्षण उत्पादन गर्न सफल भएको छ,’ उनले भने, ‘अब औपचारिक रुपमै सिक्काको छपाइ नेपालमै थालेमा पैसा छाप्नकै लागि हरेक वर्ष बाहिरिने केही रकम नेपालभित्रै रोकिने छ ।’ उक्त सिक्का छपाइका लागि हाल ४ वटा मेसिन रहेको र प्रति मेसिनले एक सेकेन्डमा २ वटा सिक्का तयार गर्न सक्ने बताइएको छ । यसरी हेर्दा १ मिनेटमा ४ सय ८० वटा र एक घण्टामा २८ हजार ८ सय ८० वटा सिक्का उत्पादन गर्न सक्ने टक्सार विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here