काठमाडौं । बजारमा खाने तेलको खुद्रा मूल्य घटेको छ। माघको पहिलो साताको बजार मूल्य अनुसार माघ दोश्रो साता बजारमा खाने तेलको मूल्य घटेको खुद्रा व्यापार संघले जनाएको छ।
माघको पहिलो साता नेपाली घ्यूको खुद्रा मूल्य प्रतिकेजी १२ सय रुपैयाँ थियो भने दोश्रो सातमा प्रतिकेजी तीन सय रुपैयाँका दरले घटेको छ। उक्त घ्यूको अहिलेको खुद्रा मूल्य प्रतिकेजी नौ सय रुपैयाँ रहेको खुद्रा व्यापार संघले जनाएको छ। माघको पहिलो साता भुटेको तोरीको तेलको खुद्रा मूल्य प्रतिलिटर चार सय रुपैयाँ थियो भने दोश्रो सातामा प्रतिलिटर ५० रुपैयाँले घटेर प्रतिलिटर तीन सय रुपैयाँ पुगेको छ।
काँचो तोरीको तेलमा पनि माघको पहिलो साताको मूल्य अनुसार प्रतिलिटर एक सय २० रुपैयाँले घटेर प्रतिलिटर दुई सय ४० रुपैयाँ पुगेको छ। उक्त तेलको माघको पहिलो साताको खुद्रा मूल्य प्रतिलिटर तीन सय ६० रुपैयाँ रहेको थियो।
भटमासको तेल र डाल्डा घ्यूमा पनि माघको पहिलो साताको खुद्रा मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटेको छ। माघको पहिलो साता भटमासको तेलको मूल्य प्रतिलिटर दुई सय ४० रुपैयाँ थियो भने दोश्रो सातामा प्रतिलटर दुई सय २० रुपैयाँ रहेको खुद्रा व्यापार संघको मूल्य सूचीमा उल्लेख छ।
माघको पहिलो साता डाल्डा घ्यूको मूल्य प्रतिलिटर दुई सय ३० रुपैयाँ थियो। दोश्रो सातामा घटेर प्रतिलिटर दुई सय १० रुपैयाँ रहेको छ। त्यस्तै, सनफ्लावर तेलको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटेको देखिन्छ। माघको पहिलो साता उक्त तेलको खुद्रा मूल्य प्रतिलिटर दुई सय ५५ रुपैयाँ थियो भने दोश्रो सातमा प्रतिलिटर दुई सय ४० रुपैयाँ रहेको छ।
| वस्तु (प्रतिलिटर) | माघ १ गतेको खुद्रा मूल्य (रू.) | माघ १५ गतेको खुद्रा मूल्य (रू.) |
| भुटेको तोरीको तेल | ४०० | ३५० |
| काँचो तोरीको तेल | ३६० | २४० |
| भटमास तेल | २४० | २२० |
| सनफ्लावर तेल | २५५ | २४० |
| डाल्डा घ्यू | २३० | २१० |
| नेपाली घ्यू | १२०० | ९०० |


















