काठमाडौं । नेटफ्लिक्सले प्रयोगकर्ताको लागि पासवर्ड सेयरिङको सुविधा आगामी मार्च अन्तिमदेखि बन्द गर्ने भएको छ । संसारकै ठूलो ओटीटी प्लेटफर्मको यो निर्णयपछि पासवर्ड सेयर गरेर बढी चलाइने नेपालजस्ता मुलुकका प्रयोगकर्ता प्रभावित हुनेछन् ।
अघिल्लो साता सेयरहोल्डरलाई बुझाएको एक समीक्षा पत्रमा नेटफ्लिक्सले यो योजना पेस गरेको छ । पहिलो चौमासिकको अन्त्यसम्म पेड सेयरिङलाई अझै सशक्त रुपले लागु गर्ने योजना उक्त पत्रमा उल्लेख छ ।
पछिल्लो समय प्रयोगकर्ताको घट्दो क्रम र आम्दानीलाई लक्षित गर्दै पासवर्ड सेयरमा शुल्क लिने तयारीमा नेटफ्लिक्स जुटेको हो । ठ्याक्कै यही मितिबाट पासवर्ड सेयरिङ बन्द हुने भनिएको त छैन तर मार्च अन्तिमदेखि यो कार्य रोकिने पक्का देखिएको छ । एक प्रयोगकर्ताले होम अकाउन्ट चलाउन त पाउनेछन् तर अन्य होमका लागि नेटफ्लिक्सलाई शुल्क तिर्नुपर्नेछ ।
पहिलो चौमासिकमै प्रयोगकर्ता दुई लाखले घटेका थिए । तर सन् २०२३ सुरु भएसँगै आशा जगाएको र ‘मेम्बरसिप’मा वृद्धि भएको समेत कम्पनीले जनाएको छ । पछिल्लो समय बेलायती राजकुमार ह्यारी र मेगनको सनसनीपूर्ण डकुमेन्ट्रीले नेटफ्लिक्सलाई फाइदा पुगेको समेत जनाइएको छ ।
कोरोना महामारीको समयमा नेपालमा समेत नेटफ्लिक्सका प्रयोगकर्ता ह्वात्तै बढेका थिए । अहिले पनि पासवर्ड सेयरिङ सुविधामार्फत नेपालमा नेटफ्लिल्क्स प्रयोगकर्ताले प्लेटफर्मका फिल्म र सिरिज हेरिरहेका छन् ।