लोकतन्त्रको मर्मलाई हराउँदा र यसको आबरणलाई जिताउँदा उत्पन्न लोकलज्जा

32

 

-लोकनारायण सुबेदी

लोकतन्त्र यथार्थतः संबैधानिक लोकतन्त्रभन्दा एउटा भिन्न कुरा हो । लोकतन्त्रले यसको बिकासको इतिहास हेर्दा यसले जुन स्वतन्त्रता, समानता र भातृत्वको एउटा एकीकृत मर्मलाई समटेको पाइन्छ । त्यस परिप्रेक्षमा हेर्दा संबैधानिक लोकतन्त्र अर्कै भिन्न कुरा हो । वास्तवमा पहिलो  एउटा आत्मा अर्थात मर्म  हो भने दोश्रो त्यसको ढाँचा या आवरण  मात्र हो । तर हरेक चुनावका बेला आत्मालाई या मर्मलाई मारेर ढाँचा या आवरणलाई जिताउने काम हुँदै आएको छ र यसरी मारिएको अर्थात आत्माबिनाको लोकतन्त्रलाई धुमधामसँग बोकेर हामी हिडिरहेका  हुन्छौं. । त्यसैले त सत्ताधारीहरुले सही असहमतिलाई पनि फट्कार्दै  भन्ने गरेका र भन्दै आएका छन् कि ‘भोट हामीले पाएका छौ’ । तर भीडको स्वीकृति साच्चो लोकतन्त्रको कुनै अन्तिम कसी होइन र हुँदैन अनि  हुँनु पनि हुँदैन । भीडलाई नै सबै कुरा मान्ने हो भने त हिजो १०४ बर्ष राणाहरुले नै जितिरहेका थिए । तिनका बिरुद्ध आवाज उठाउने र संघर्ष गर्नेहरुको संख्या सानो थियो तर त्यसैले परिबर्तन ल्यायो । त्यसपछि पञ्चायतले ‘सबै पञ्च नेपाली सबै नेपाली पञ्च’ भन्ने नारा गुञ्जाएको थियो तर त्यो ब्यवस्थाको बिरोध गर्ने र संघर्ष गर्नेहरुको संख्या सानो थियो । प्रष्ट छ भीडको स्वीकृतिले चल्ने हो भने त न पञ्चायतको अन्त्य हुने थियो न त्यस अघिको जहाँनियाँ राणातन्त्र नै जाने थियो ।

त्यसैले भीडलाई लोकतन्त्र भन्ने भ्रम पालेर यसको वास्तविक आत्मा या मर्मलाई मार्ने काम गरिनु हुँदैन । लोकतन्त्रको उदेश्य र यसको प्राप्तिको संघर्षलाई एकातिर पञ्छाएर यसको अपब्याख्या या भ्रष्टीकरण गरिदा यसको मर्म र भावना बोकेर हिडेको पनि ठहरिदैन । अनि चुनाव परिणामको कथित बिश्लेषणको नाममा आ–आफ्ना गल्ती कमजोरी लुकाउने या ती सबै कुरा जनताले अनुमोदन गरिदिए भनेर थप भ्रम सिर्जना गर्ने कुराले कहिँ कतै लोकतन्त्रलाई सबल, सक्षम र सार्थक कीमार्थ र कदापि बनाउन सक्तैन । यद्यपि हामीकहाँ लोकतन्त्रको ‘आत्मा’ र ‘आबरण’लाई उस्तै र एउटै भनेर गलत ब्याख्या या अपब्याख्या गर्दै यसलाई गाजेमाजे पार्ने गरिएको छ र त्यसैलाई लोकतन्त्रको ‘सुन्दरता’ भन्ने संज्ञा दिएर कुरुप अनुहारलाई सहन गर्ने शर्मलाग्दो परिपाटी बसालिएको या बसाल्न खोजेको प्रतीत भइरहेको  छ । यसले राजनीतिक भ्रष्टीकरणलाई प्रोत्साहित भइरहेको छ । फलतः त्यो राजनैतिक नैतिकता, निष्ठा, इमानदारीतामा स्खलन ल्याउने कारक र कारण बनिरहेको छ । अनि त्यसबाट प्रत्युत्पन्न ब्यापक भ्रष्टाचार, कमिशनखोरी, आर्थिक अपचलन, सामाजिक बिचलन आदिले समाज आक्रान्त बनेको छ । यसले भ्रष्ट राजनीतिक सँस्कृतिलाई मलजल गरेर बल पु¥याइरहेको छ । बस्तुतः आजको राजनीति आदर्शच्यूत हुनुको आधारशीला नै यही हो ।

यद्यपि सामान्य कुरा के हो भने हरेक चुनावको आयोजना हुँदा त्यहाँ कुनै दलले जित्छ र कुनैले हार्दछ । अहिलेको चुनावमा पनि यस्तै भएको छ । तर दलहरु जिते पनि देश र जनताले हारिरहेका छन् । अन्यौल, अस्थिरता र अराजकताका प्रष्ट संकेतहरु देखिइरहेका छन् । यस्तै माहोलले गर्दा बिकास, प्रगति र समुन्नतिले सही दिशा लिन नसकेर बर्षंैंदेखि हारिरहेको छ । अहिलेको चुनाव परिणामले पनि कुनै स्थिरता, सुनिश्तिता र सुशासनको संकेत दिन सकेको छैन र सक्ने पनि छैन । त्यसैले चुनाव नसकिदै एकातिर कुर्सीको लडाईले चरम रुप लिने र ‘मध्यावधी’ चुनाव हुनसक्नेसम्मका बिश्लेषणहरु अहिले नै  हुन थालेका छन् । यो त्यसै लहै लहैमा भनिएको कुरा पनि होइन । हिजोको इतिहास यस्तै रहेको छ र देशमा पटक पटक अबाञ्छित राजनैतिक दुर्घटना हुने गर्दै रहेको अनुभव छ । अहिले पनि त्यस्तो सन्देहको स्थिति कायम रहेको र  ब्याप्त भइरहेको छ ।

यस स्थितिमा चुनाव परिणामको कुनै नाता यदि कुनै लोकतन्त्र नामको ब्यवस्थासँग पनि हुँदो हो र त्यसले गर्दा चुनावी राजनीति या संसदीय लोकतन्त्रको अस्तित्व रहेको हो भने यसलाई एकदमै राम्रोसँग बुझ्नु पर्दछ कि यो दल जित्ने देश हार्ने, लोक अर्थात् जनता हार्ने तर तन्त्र जित्ने र वास्तविक लोकतन्त्र पराजित हुने तारतम्य बाहेक अरु केही होइन र हुँदैन । त्यसले गर्दा संबिधान पनि अब एउटा पुरानो गाता भएको धर्मशास्त्रको किताब जस्तै एउटा अन्ध माला जप्ने कुरा मात्र भएर रहेको छ । यसैले यी कुराहरु छोडेर परिप्रेक्षमा चुनावमा आधारित भएको हार जीतको कुनै पनि बाचाल चर्चाले जतिसुकै प्रश्रय पाए पनि त्यसले भ्रम सिर्जन गर्ने बाहेक अरु कुनै सही र सार्थक कुरा देश र जनतालाई दिदैन, चाहेर पनि दिन सक्तैन  वास्तवमा समग्रमा यथार्थ आधारमा बुझ्ने र केलाउने हो भने चुनावको संबैधानिक पबित्रता र त्यसको राजनैतिक अस्तित्व पराजित भइरहेको या भइसकेको छ । चुनावको आचार संहीता हारिरहेको छ, लोकतन्त्रको आधार नैतिकताले हारिरहेको छ । यथार्थतः समग्रमा ती सबै लोकतान्त्रिक प्रतिमानहरुले हार खाइरहेका छन् जुन संबैधानिक ढाचामा संग्रहित र खडा गरिएका छन् । यसले गर्दा लोकतन्त्र एउटा मर्यादा बिनाको बस्तु बने बनाइएको छ । यस्तो अबस्थामा लोकतन्त्र एउटा खोक्रो अल्पतन्त्र, दलतन्त्र र केवल भिडतन्त्र मात्र भएर रहन्छ । आजका हरेक चुनाव स्थानीय, प्रादेशिक या संघीय सबैमा जातियता, क्षेत्रीयता र धार्मिक उन्मादलाई प्ररोक्ष या प्रत्यक्ष बढाई चढाई गरेर जीत हासिल गर्ने बिषाक्त बातावरण बनाइने गरेको छ । यसले राष्ट्रिय एकता खल्बल्याइरहेको छ र पारस्परिक सद्भावलाई पञ्छाइरहेको छ र राष्ट्रिय स्वाधीनतालाई कमजोर तुल्याइरहेको छ । वास्तवमा आजको हाम्रो चुनावमा सत्ता बल, धन बल र बाहु बल, छलछाम र असत्यले जितिरहेको छ । कतै कसैको पक्ष या बिपक्षमा खडा भएर भनिएको कुनै हल्का र पूर्बाग्रहपूर्ण कुरा यो होइन राष्ट्र र जनताले भोगिराखेको र कटु अनुभव गरिराखेको कुराको समग्र यथार्थ तस्वीरलाई उजागर गरेको मात्र हो ।

वास्तवमा लोकतन्त्रले जनतामा जुन भातृत्व, समानता र स्वतन्त्रताको आधार तयार गर्नु पर्ने हो त्यसो नगरी त्यसबाट बिमुख हुने या बिमुख पार्ने बाटो लिन्छ भने त्यो त्यतिबेला लोकतन्त्र रहँदैन । जनतलाई कमजोर पार्ने र अन्ध अनुशरणकर्ता बनाउने अबाञ्छित दबाब लोकतन्त्रभन्दा बाहिरको कुरा हो । लोकतन्त्र त जनताको जीवनसँग गासिएको उनीहरुको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता जीवनका नभइ नहुने कुरा सुनिश्चित गर्ने माध्यम हो र हुनु पर्दछ । अन्यथा त्यो लोकतन्त्र रहँदैन र हुँदैन । यी आधारभूत कुरा उपलब्ध नभइ मानिस स्वतन्त्र, आत्मनिर्भर र स्वाधीन बन्ने आधार नै तयार हुँदैन । त्यसैले लोकतन्त्रलाई ‘जनताले जनताका लागि जनताद्वारा’ परिचालन गरिने पद्धति भनिएको हो र यो केवल चुनावमा मात्र सीमित छैन र त्यसरी ब्याख्या पनि गरिनु हुँदैन । चुनाव त यसको एउटा आंशिक प्रकृया र माध्यम मात्र हो । बास्तबिक लोकतन्त्र त जनताको जीवनको सर्बांगिण बिकासको आधार तयार गर्नु र त्यसलाई निरन्तरता दिइरहनु हो । त्यसैले यो आत्मा नभएको या सत्व नभएको लोकतन्त्रलाई अरु जे जे भनेर बढाई चढाई गरे पनि त्यसले देश र जनताको हक हित, सत्व र स्वाभीमानको रक्षा गर्न र तिनलाई सम्बृद्ध तुल्याउन सक्तैन भन्ने कुरा एकदमै प्रष्ट छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here