कथानक चलचित्र ‘बुलाकी’ को प्रदर्शन मिति तय

39

काठमाडौं  । सुरक्षा पन्तको मुख्य भूमिका रहेको कथानक चलचित्र ‘बुलाकी’ को प्रदर्शन मिति तय भएको छ। लक्ष्मण सुनार निर्देशित यस कथानक आगामी नयाँ वर्ष वैशाख १ गते रिलिज हुनेछ।

यसअघि यस चलचित्र फागुन १९ गते रिलिज हुने भनिएको थियो। तर, फागुन १९ गते दुई ठूला  कथानक चलचित्र  ‘छक्का पञ्जा ४’ र ‘छड्के-२’ भिड्ने पक्का भएसँगै यो फिल्मको रिलिज मिति सरेको हो।

वैशाख १ गते पनि ठूलो भिडन्त हुने पक्का छ। यसअघि नै भगवत् गीता, जारी, नाइँ नभन्नु ल-६, प्रसाद-२ र बिहे पासले वैशाख १ गते नै प्रदर्शन मिति तोकिसकेका छन। भगवत् गीताले भने प्रदर्शन मिति सार्ने छाँटकाट देखिएको छ। ‘बुलाकी’  लाई उपत्यकाभित्र सुनीलकुमार थापाको कम्पनी त्रिनेत्रमले वितरण गर्नेछ। जसकारण भगवत् गीतको मिति सर्न सक्ने अनुमान गरिएको हो।

बुलाकीले कर्णाली भेगको जनजीवन तथा संस्कृतिलाई समेटेको छ। स्व.मोति विष्टको प्रस्तुति रहेको फिल्ममा टोपेन्द्र विष्टको लगानी छ। फिल्ममा सुरक्षाका साथै नरेन्द्र खड्का, विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको छायांकन डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा गरिएको हो। प्रचारप्रसारलाई जोड दिँदै ‘बुलाकी’ को टिजर यही माघ २७ गते सार्वजनिक हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here