३२ करोड राजस्व लिई भन्सारले छाड्यो एक अर्बका उपकरण

86

काठमाडौं । अस्वाभाविक मूल्य देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयले रोकेका करिब १ अर्ब १४ करोड रूपैयाँका दूरसञ्चार उपकरण करिब ३२ करोड रूपैयाँ राजस्व लिएर छाडिएको छ।

खरिद गरिएका उपकरणको १३ प्रतिशत मूल्य अभिवृद्धि कर र १५ प्रतिशत भन्सार शुल्कबापतको रकम लिई छाडेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ। ‘सामान सधैं रोकेर राख्न पनि मिलेन,’ कार्यालय प्रमुख अरूण पोखरेलले भने, ‘अन्य निकायलाई छानबिनका लागि पत्राचार गरी राजस्व लिएर उपकरण छाडेका हौं।’

धेरै मूल्यांकन गरेर विदेशी मुद्रा विदेश पठाउन खोजेको आंशका लागेकाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई छानबिन गर्न लेखी पठाएको भन्सार प्रमुख पोखरेलले बताए। पोखरेलका अनुसार भन्सार ऐनको १३ ९२०० मा भएको व्यवस्थाअनुसार थप अनुसन्धानका लागि अन्य निकायलाई पत्राचार गरिएको हो।

‘भ्यालुएसन बढाएको आशंका छ,’ पोखरेलले भने, ‘सम्बन्धित निकायको अनुसन्धानबाट पत्ता लाग्ला।’ विदेशबाट ल्याउने सबै सामानमा न्यून बीजकीकरणको समस्या हुने गरेकामा दूरसञ्चारका उपकरणमा भने ओभर भ्यालुएसनको अनुमान गरिएको भन्सारका अधिकारी बताउँछन्। धेरै मूल्य देखाउनुको उद्देश्य वैदेशिक मुद्रा विदेश पठाउने योजना हुनसक्ने आशंका गरिएको छ।

वैदेशिक मुद्राको विषयमा राष्ट्र बैंकले थप अनुसन्धान गर्नेछ। सरकारी निकायले खरिद गरेका उपकरण भएकाले अनियमितता भएको हुन सक्ने भन्दै अख्तियारले पनि थप छानबिन गर्नेछ। भन्सार ऐनको दफा १३ को उपदफा २० मा ‘कुनै पैठारीकर्ताले अधिक बीजकीकरण गरी मालवस्तु पैठारी गरेको भन्सार अधिकृतलाई लागेमा निजले प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ’ भन्ने व्यवस्था छ। यही व्यवस्थालाई आधार बनाएर थप अनुसन्धानका लागि लेखी पठाएको भन्सारको दाबी छ। यो सामचार नागरिक दैनिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here