वसन्तपुरमा चीर ठड्याएसँगै फागु पर्व सुरु

42

काठमाडाैं । काठमाडाैंको वसन्तपुरमा रहेकाे हनुमानढोका दरबारमा तीन तले चीर ठड्याइएको छ ।

वसन्तपुरमा रहेकाे हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज  तीनतले चीर ठड्याएसँगै देशभर यसपालिकाे फागु अर्थात् होली पर्व सुरु भएको छ ।

आज बिहान ७ बजेर ४५ मिनेटकाे साइतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् । आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्राङ्गणमा पनि रङ्गीचङ्गी कपडा झुन्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।

चीर ठड्याएपछि मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले असत्यमाथि सत्यको जितको रुपमा ठड्याइएको बताउनु भयो । उहाँले चीर ठड्याइसकेपछि विधिवत् रुपमा होली पर्व सुरु भएको मानिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘चीरको महत्त्व परापूर्वकालदेखि नै छ । असत्यमाथि सत्यको जितको रुपमा मनाउने गरिन्छ । चीर ठड्याइसकेपछि विधिवत् रुपमा होली सुरु हुन्छ ।  यो चीर मानन्धर समुदायले ठड्याउने परम्परा रहेकाे छ ।’

यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ । २२ गते हिमाली तथा पहाडी जिल्लामा र २३ गते तराई जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here