ओलीको खबरदारीपश्चात् पछि हट्यो सरकार

32
बौद्ध कलेज स्थापनाको बहानामा भारतलाई युरेनियम जिम्मा लगाउने षड्यन्त्रको पर्दाफास !
काठमाडौं / अस्थिर राजनीतिको फाइदा उठाउँदै चीनसँगको सीमा क्षेत्रमा पर्ने नेपाली भूमिमा भारतीय लगानीमा बौद्ध कलेज स्थापनाको प्रयास असफल भएको छ । राजनीतिक दलका नेता तथा सर्वसाधारणसम्मले चौतर्फी रुपमा आलोचना गरेपछि सरकार आफ्नो निर्णयबाट पछि हट्न मात्र बाध्य भएको छैन, उक्त निर्णय नै नगरेको भनी स्पष्टीकरण दिनुपर्ने अवस्थामा आएको हो ।
मुस्ताङको संवेदनशील क्षेत्र फल्याकमा भारत सरकारको लगानीमा मुस्ताङ बौद्ध कलेज स्थापना गर्ने प्रयास भएको थियो । आवरणमा कलेज स्थापनाको विषय भए पनि वास्तविकतामा भने यस क्षेत्रमा वर्षौंदेखि चर्चामा रहेको युरेनियम उत्खननको जिम्मा भारतलाई दिने प्रयासस्वरुप यो निर्णय भएको उच्च राजनीतिक स्रोतको भनाइ छ । कलेज खोल्ने भनिएको क्षेत्र तिब्बती खम्पाहरुले चार दशकअघि चीन सरकारविरुद्ध विद्रोह गरेको क्षेत्र हो । त्यही क्षेत्र छानेर आयोजना बनाउन भारतीय दूतावासले नेपाल सरकारसँग अनुमति मागेको हो । २०२८ सालमा खम्पा विद्रोह नियन्त्रणका लासिग सरकारले मुस्ताङका तीन दर्जनभन्दा बढी ठाउँलाई विदेशी प्रवेशका लागि निषेध गरिएको थियो । कलेज स्थापना गरिएको भनिएको क्षेत्र बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका पर्छ । उक्त कलेज स्थापना गर्न भारतले ७० करोड ३३ लाख रुपैयाँ अनुदान दिने भएको छ ।
कलेज स्थापनाको एउटा उद्देश्य नेपालको संवेदनशील क्षेत्रमा तिब्बती र अन्य विदेशी जम्मा गर्ने रहेको स्रोतको भनाइ छ । यो क्षेत्र चीनसँगको सीमा क्षेत्रमा पर्ने भएकाले नेपालको भूराजनीतिमा जटिलता निम्त्याउने निश्चित छ । किनकि चीनले हरेक पटक आफ्नो अधिकारीको भ्रमणमा नेपाली राजनीतिक दलका नेता तथा सरकारी अधिकारीसँग चीनविरुद्धको गतिविधि हुन नदिन आग्रह गर्दै आएका छन् । अर्कोतर्फ मुस्ताङ क्षेत्रमा रहेको युरेनियममाथि विदेशी राष्ट्रको लामो समयदेखि नजर रहेको छ । युरेनियम अति महँगो रेडियोधर्मी पदार्थ हो, जुन परमाणु हतियार र इन्धन बनाउन कच्चा पदार्थको रुपमा प्रयोग गरिन्छ । त्यसकारण त्यस क्षेत्रमा कलेज स्थापना गरी युरेनियम खानीमा आफ्नो कब्जा जमाउने अर्को उद्देश्य रहेको राजनीतिक स्रोतको भनाइ छ । २०७०÷७१ सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट मुस्ताङको लोमान्थाङ क्षेत्रमा युरेनियम रहेको तथ्य फेला परेको थियो । लोमान्थाङ क्षेत्रमा १० किमि लम्बाइ र तीन किमि चौडाइमा युरेनियम भेटिएको थियो । २०७३ फेरि गरिएको अध्ययनमा सरकारी टोलीले त्यस क्षेत्रमा युरेनियमको परिमाण धेरै र गुणस्तर पनि उत्कृष्ट खालको भेटिएको जनाएको थियो ।
कलेजको आवरणमा अर्कै धन्दा गर्न खोजिएको खुलासा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेका छन् । शनिबार काठमाडौंमा आयोजित सार्वजनिक कार्यक्रममा नै ओलीले उपल्लो मुस्ताङमा बौद्ध कलेज खोल्ने तयारी विदेशीहरुको खेलमैदान बनाउने योजनाअनुसार अघि बढाइएको जनाएका हुन् । उनले सरकारले चीनमाथि गद्दारी गरेको पनि आरोप लगाएका थिए । ‘मुस्ताङमा विश्वविद्यालय (मुस्ताङ बौद्ध कजेल) भनेको विदेशीको दलाली हो । राष्ट्रियतामाथिको प्रहार हो । मित्रराष्ट्र चीनविरुद्धको गद्दारी हो,’ ओलीले भने, ‘२०३१ साललाई ठूलो स्केलमा दोहो¥याउन खोजिएको हो । आफ्नो देशको सार्वभौमसत्तालाई अस्वीकार गरेको हो । स्वाधीनतालाई अस्वीकार गरेको हो ।’ उक्त योजनालाई उनले विदेशीको खेलमैदान बनाउन खोजिएको भन्दै त्यहाँको युरेनियममा ध्यान दिइएको आरोप लगाए । ‘जहाँ मानिस छैन त्यहाँ विश्वविद्यालय ! खास उद्देश्यका पेड मानिसहरु मात्रै बस्छन् त्यहाँ,’ उनले भने । उनले उक्त योजना धेरै खतरनाक कुरा भएको जनाउँदै सबैले विरोध गर्नुपर्ने जिकिर गरे ।
चौतर्फी विरोधपछि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको स्पष्टीकरण दिएका छन् । प्रम दाहालले अहिले मुस्ताङको विषयमा बडो चर्चा भइरहेको उल्लेख गर्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालयभन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाइरहेको आफूले पाएको जनाए । ‘मुस्ताङमा बुद्धको युनिभर्सिटी बौद्ध युनिभर्सिटी खोल्ने कुरा भन्ने पनि आयो । पक्कै पनि त्यहाँ स्थानीय तहबाट चाहिँ कलेज खोल्ने, युनिभर्सिटी खोल्नेभन्दा पनि कलेज खोल्ने चर्चा चाहिँ धेरै पहिलेदेखि भएको रहेछ । तर नेपाल सरकारले कहींकतै स्वीकृति दिएको स्थिति होइन,’ उनले भने ।
प्रधानमन्त्री दाहालले आफूले सो चर्चाको विषयमा कसैलाई आरोप÷प्रत्यारोप गर्ने पक्षमा नरहेको जनाउँदै मुस्ताङमा भएको खनिज पदार्थबारे स्वदेशमा भन्दा पनि विदेशीहरु बढी जानकार रहेको आफूले सुनेको जानकारी दिए । प्रधानमन्त्री दाहालले मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठीक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने जनाए । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here