स्ववियु निर्वाचन : त्रिवि केन्द्रको अध्यक्षमा १२ प्रतिस्पर्धी

95

काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चैत ५ गते तय भइसकेको छ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत प्रा. डा. रमेशकुमार श्रेष्ठका अनुसार त्रिवि स्ववियुका लागि सभापतिदेखि विभिन्न पदाधिकारी एवम् सदस्यसम्ममा ६२ जनाको उम्मेदवारी परेको छ।

त्रिवि अन्तर्गतको सभापति पदमा १२ जनाको उम्मेदवारी छ।  विभिन्न राजनीतिक दल निकट विद्यार्थी सङ्गठनका १४ जनाको उम्मेदवारी परेको भए पनि सोमबार दुई जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।

नेपाली कांग्रेस निकटका नेपाल विद्यार्थी सङ्घको तर्फबाट सभापतिमा राम राज ओझा हुनुहुन्छ। स्ववियु निर्वाचनका सन्दर्भमा कुरा गर्दै उहाँले करिब १५ वर्षपछि हुन गइरहेको यो निर्वाचनले विश्वविद्यालयलाई एउटा लयमा फर्काउने बताउनुभयो।

ओझाले भन्नुभयो, “करिब १४, १५ वर्षपछि स्ववियु निर्वाचन हुँदैछ। विश्वविद्यालयले आफ्नो तिथि बिर्सिसकेको थियो। विश्व विद्यालयले आफैले बनाएको ऐन, कानुन मानेको थिएन। अब विश्व विद्यालय एउटा लयमा फर्कने, विद्यार्थीको सामूहिक शक्ति निर्माण गर्ने छ”, उहाँले भन्नुभयो। उहाँले ‘सिस्टममा सुधार, शैक्षिक गुणस्तरको पहिला आधार’ आफूहरूको मुख्य नारा तय भएको बताउनुभयो।

नेकपा (एमाले) निकट अनेरास्ववियुका तर्फबाट सभापतिमा प्रकाश विष्ट उम्मेदवार हुनुहुन्छ। विष्टले अनेरास्ववियुले एक महिना अगाडि नै त्रिवि कस्तो हुनुपर्छ भनेर टेन–टेन भिजन सार्वजनिक गरेको बताउनुभयो।

विष्टले भन्नुभयो, “केन्द्रीय क्याम्पसमा एक महिना अगाडि नै टेन–टेन भिजन, मातृ पार्टीसँग तादम्यता हुने किसिमको। यो सबैभन्दा सशक्त खालको छ त्रिविभित्र के के गर्ने भन्ने कुरा सार्वजनिक भएको छ।”

यसैगरी, नेकपा (माओवादी केन्द्र) निकटको अखिल क्रान्तिकारीबाट सभापतिमा विपिन विकको उम्मेदवारी परेको छ।  उहाँले स्ववियुबाट विश्वविद्यालय व्यवस्थापनमा के के काम गर्न सकिन्छ भन्ने कुराको प्रतिबद्धता सार्वजनिक भइसकेको बताउनुभयो।

विकले भन्नुभयो, “स्ववियु किन गराउनुपर्छ, के काम गर्न सक्छौँ भन्ने कुरा प्रतिबद्धतामा सार्वजनिक गरिसकेका छौँ। अखिल क्रान्तिकारी नै किन भनेर धारणा सार्वजनिक गरिसकेका छौँ।”

उहाँले शैक्षिक क्यालेन्डर अनुसारको गतिविधि अघि बढ्नुपर्ने, सबै विद्यार्थीको स्वास्थ्य बिमा, विश्व विद्यालय व्यवस्थापन लगायतका मुख्य कामका लागि आफूहरूको नेतृत्व आवश्यक रहेको भनाइ राख्नुभयो।   सपना थामी गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here