काठमाडौं । डच क्लब पीएसभी इन्डहोभेनले एक समर्थकलाई ४० वर्षको प्रतिबन्ध लगाएको छ। युरोपा लिगका दौरान स्पेनिस क्लब सेभियाका गोलरक्षक मार्को दिमित्रोभिकमाथि आक्रमण गरेको आरोपमा पीएसभीले एक समर्थकलाई आफ्नो स्टेडियम प्रवेशमा ४० वर्षको प्रतिबन्ध लगाएको हो।
गोलरक्षक दिमित्रोभिचलाई आक्रमण गर्ने ती युवालाई यसअघि पनि राष्ट्रिय रंगशालामा प्रतिबन्ध लगाइएको खुलेको छ। ती युवाले ३ महिनाको जेल सजाय समेत भोगिसकेका जनाइएको छ। त्यस दिन उनी आफ्ना १ साथीको टिकट प्रयोग गरेर पीएसभी इन्डहोभेन र सेभियाबीचको खेल हेर्न पुगेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
उक्त खेलमा सेभिया २–० गोलले पराजित भएको थियो। तर समग्रमा पीएसभीसँग ३–४ को जितसँगै सेभिया अन्तिम १६ मा पुगेको थियो।
प्रि–क्वाटरफाइनलमा टर्किस क्लब फेनरवाचलाई समग्रमा २–१ ले पराजित गर्दै सेभिया क्वाटरफाइनलमा पुगिसकेको छ। सेभियाले क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ।


















