धनुषा । नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय समितिको पूर्ण बैठक यही २०७९ चैत्र ११ र १२ गते ढल्केबर, धनुषामा सम्पन्न भयो ।
पार्टीका अध्यक्ष क. लोकनारायण सुबेदीको अध्यक्षतामा सम्पन्न बैठकले राष्ट्रिय अन्तर्राष्ट्रिय गम्भीर परिस्थितिका बारेमा छलफल गर्दै देश र जनताप्रति समर्पित निष्ठाबान क्रान्तिकारी कम्युनिष्ट, बापन्थी र लोकातान्त्रिक देशभक्त शक्तिहरु एकाबद्ध भएर दृढताकासाथ खडा नहुने हो भने देश अपूर्ब ठूलो र भयावह संकटको दलदलमा पर्ने र बाह्य शक्तिको अबाञ्छित अखडा बन्ने मूल्यांकन गरेको छ । बैठकका निर्णयहरु यस प्रकार छन् :
१.देशको पछिल्लो परिबर्तन पछि पनि राष्ट्रिय राजनीतिले देशलाई सही दिशा र गति दिन नसकेको र राष्ट्रिय राजनीति मूल्यहीन र अवसरबादी तरीकाले चले चलाइएको मात्रै होइन, झनपछिझन बिदेशमुखी र परमुखापेक्षी हुँदै गएको, दुइ दुइ पटक संसदीय निर्बाचन भइसक्दा पनि देश र जनताका कुनै समस्या हल नभएको र केवल कुर्सीका लागि लडामति गर्ने गैर जिम्मेवार प्रबृत्तिले आज स्थिति नराम्रोसँग गिजोलिएको छ तथा पुराना र नयाँ यथास्थितिबादी र प्रतिगमनकारी शक्तिहरुको कुचक्रमा परेर गुज्रिरहेको मूल्यांक गरेको छ । यस स्थितिबाट पार पाउन र देशलाई सही र नयाँ मोड दिन देशका सच्चा कम्युनिष्ट, बामपन्थी र क्रान्तिकारी लोकतन्त्रिक शक्तिरु पुनः दृढताकासाथ एकताबद्धरूपमा खडाभएर संघर्षशील बन्नुको कुनै बिकल्प नभएको यथार्थलाई पुनः बैठकले जोड दिएर औंल्याएको छ ।
२.देशको यस गंभीर परिप्रेक्षमा कमरेड पुष्पलालले दूर दृष्टिकासाथ देशको स्वाधीनता, स्वतन्त्रता र समुन्नतिका बाधक रहेका राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरुका बिरुद्ध दृढताकासाथ एकताबद्ध भएर खडा हुन र संघर्षशील रहन धेरै पहिले दिएको महत्वपूर्ण निर्देशनको अनुपालन गरेर अघि बढ्न पुनः जोडदार आह्वान गर्दै बिशेषत कमरेड पुष्पलालको सही बिचारको वरिपरी गोलबन्द र एकताबद्ध हुन सम्वद्ध सबैसँग बैठकले पुनः हार्दिक अनुरोध गरेको छ ।
३. बैठकले देशको जनतान्त्रिक आन्दोलनको मेरु दण्ड र जीवनदायिनी मूख्य उत्पादक शक्ति रहेको किसान र कृषि कर्मको लगातार उपेक्षा र बेवास्ताले गर्दा देश सामन्तबाद र साम्राज्यबादले थिचिदै र शोषित उत्पीडत हुँदै अर्थतन्त्र परनिर्भरताको पासोमा परेको मात्रै छैन, त्यसको फलस्वरुप राष्ट्रिय पूँजीको निर्माण र बिकास हुन नसकेर देशको स्वाधीनता, स्वतन्त्रता, जनतान्त्रिक अधिकार एबं नागरिक स्वतन्त्रता नै गम्भीर खतरामा पर्दै गइरहेको बिश्लेषण गर्दै यस स्थितिका बिरुद्ध संयुक्त किसान आन्दोलनको कुनै बिकल्प नरहेको र पार्टीको संम्पूर्ण शक्ति संयुक्त किसान आन्दोलनमा केन्द्रित गर्न र यसको लागि आवश्यक गृहकार्यकासाथ तयारीमा लाग्न बैठकले बिशेष निर्देशन दिएको छ । साथै बैठकले मिटर ब्याज पीडित किसानहरुसँगको सम्झौता अनुरुप माग पूरा गर्नुको साटो माग पूरा गराउन तराईदेखि करीब २ हप्ता पैदल हिडेर काठमाण्डौं आएका मिटरब्याज पीडित किसानलाई दमन गर्ने रबैयाको बैठकले घोर निन्दा र भर्त्सना गर्दै आन्दोलनरत मिटरब्याज पीडित किसानहरुसँगको सम्झौता तुरुन्त प्रभावकारीरुपमा लागु गर्न जोडदार माग गरेको छ र उनीहरूको जायज संघर्षप्रति दृढ ऐक्यबद्धता जनाएको छ ।
४.बैठकले नेपालाई बिदेशी शक्तिको अखडा बनाउने इण्डो–अमेरिकी धूरीमा धकेल्ने र छिमेकी मित्र देश चीन र भारतका समेत बिरुद्ध थप सन्देह पैदा गर्ने जुन अबाञ्छित खेल र चलखेल चलाइएको छ । त्यसको जोडदार बिरोध गर्दै र एमसीसी, एसपीसी, जस्ता कुटील परियोजनाको नाममा यस्ता गतिबिधि भरहेकोप्रति क्षोभ प्रकट गर्दै यस्ता घातक परियोजनाहरु रोक्न र दुइ छिमेहरुसँग नेपालको सम–मैत्री सम्वन्ध राख्न तथा असंलग्न परराष्ट्र नीतिलाई प्रभावकारीरुपमा अबलम्बन गर्न पनि जोडदार माग गरेको छ . बाह्य शक्तिका अबाञ्छित हस्तक्षेपकारी गतिबिधिका बिरूध्द खडा हुन सम्पूर्ण नेपाली जनतामा जोडदार आह्वान पनि बैठकले गरेको छ ।
५.नेपालमा अमेरिकी चलखेल अझ तीब्र भएको र अमेरीकी सैनिक अधिकारीहरू सन्देहास्पद भ्रमणा र भारतीय सञ्चार माध्यमहरूले कालापानी क्षेत्रके भूभाग नेपाली जन गणना २०७८ मा दाबी नगरेका प्रचार प्रसार गरिरहेके कुरामा बैठकके ध्यान गएको छ र यस बारे यथार्थ बास्तबिकता सरकारले सार्बजनिक गरोस् भन्ने पनि बैठकले जोडदार माग गरेको छ ।
६. बैठकले पार्टी र यसका जन बर्गीय संगहरुलाई क्रियाशील तुल्याउन जन बर्गीय संगठनहरुको गठन पुनर्गठन र सुदृढीकरणको कार्यलाई तीब्रता दिने, पार्टीका आर्थिक कठिनाईहरुलाई पार गर्ने बिभिन्न तत्कालीन र दीर्घकालीन योजनाहरु अघि बढाउने समस्या हल गर्दै जाने समेत निर्णय लिएको छ ।
७.बैठकले २०८१ बर्ष कमरेड पुष्पलालको जन्म शतबार्षिकी बर्ष भएकोले त्यसलाई बिशेष कार्यक्रममका साथ मनाउन बिबिध महत्वपूर्ण कार्यक्रमहरुको आयोजना गरी मनाउन तयारीमा लाग्ने पार्टी सचिवालयके निर्णय कार्यान्वयनमा अहिलेदेखि नै लाग्न र यस सम्वन्धमा आगामी जेष्ठ महिनामा पार्टीको राष्ट्रिय परिषदको सम्मेलन गर्ने तयारी गर्ने पनि निर्णय लिएको छ ।
८. बैठकले बरिष्ठ आँखा बिशेषज्ञ डा. सन्दूक रुइतले आफुले आँखाको शल्य कृयार गरेर हजारौ हजारको दृष्टि फर्काएर मानबताको निस्वार्थ सेवा गरेबापत करोडौको अन्तर्राष्ट्रिय पुरष्कारले सम्मानित हुनु भएर देशको शान र सम्मान बढाएकेमा उहाँप्रति उच्च सम्मानकासाथ बधाई ज्ञापन गर्दै राष्ट्रले उहाँलाई राष्ट्रिय आँखाचिकित्सा प्रबीण’ उपाधी दिएर सम्मान गर्नुपर्ने समेत माग गरेको छ ।
बैठकमा पार्टीका केन्द्रिय सचिवालयका सदस्यहरू, केन्द्रिय समितिका सदस्यहरू र आमन्त्रित केन्द्रिय सदस्यहरूको समेत बिशेषा उपस्थिति रहेको थियो । बैठकको शुरूमा देशका सम्पूर्ण अमर शहीदहरूप्रति सम्मानका निम्ति एक मिनेट मौन धारण गर्दै तथा पार्टीका मार्गदर्शक नेता कमरेड पुष्पलालप्रति सम्मानकासाथ अभिबादन प्रकट गरिएके थियो ।

















