भूतपूर्व सैनिक सम्मेलन-२०७९

53

काठमाडाैं ।  प्रधान सेनापति महारथी प्रभुराम शर्माले राष्ट्र सेवा तथा नेपाली जनताको सुख-दु:खमा साथ रहनु नै नेपाली सेनाको मूलमन्त्र भएको र नेपाली सेना बलियो हुनु भनेको नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित तथा राष्ट्रिय स्वार्थहरुको संरक्षण र सम्बोधन अझ प्रभावकारी तवरबाट हुनु हो भन्नुभएको छ ।  आज मिति २०७९ चैत्र २० गते बर्दिबास सैनिक शिबिर, महोत्तरीमा भूतपूर्व सैनिक सम्मेलन २०७९ को समुद्‍घाटन गर्दै प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले उक्त कुरा बताउनु भयो । महोत्तरी, धनुषा, सर्लाही, सिराहा, बारा, पर्सा, रौतहट र सप्तरी गरी जम्मा ८ (आठ) जिल्लाहरुमा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागिता रहेको सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापतिले लामो सैनिक जीवनको दौरान प्राप्त ज्ञान र सीपलाई आफू बसोवास गरिरहेको स्थानमा प्रयोग गर्दै सदैव राष्ट्रको हित साथै नेपाली जनताको सेवामा आ-आफ्नो क्षेत्रबाट समर्पित रही आफूलाई सदैव एक अनुशासित सैनिक र सच्चा नेपाली नागरिकको रुपमा प्रस्तुत गर्न आग्रह गर्नुभयो ।

सम्बोधनकै क्रममा प्रधान सेनापतिले भूतपूर्व सैनिकहरुको जीवनलाई थोरै भएपनि सरल, सहज र सुखी बनाउन नेपाली सेना प्रयत्नशील रहेको बताउनु भयो । उहाँले सैनिक कल्याणकारी कोषको रकम पारदर्शी रुपमा सदुपयोग गर्दै सिमित स्रोत साधनका बाबजुद शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियतमार्फत सम्पूर्ण हिताधिकारीहरुलाई सुविधा उपलब्ध गराउँदै आइरहेको र थप सेवा विस्तारमा नेपाली सेना प्रयत्नशील रहेको बताउनु भयो ।

सोही क्रममा उहाँले मधेस प्रदेशका बासिन्दाहरुलाई नेपाली सेनामा भर्नाको लागि आकर्षण बढाउन मधेस प्रदेशका सिराहा, पर्सा र सर्लाही जिल्लाहरुमा तैनाथ नेपाली सेनाका युनिटहरुमा भर्ना छनौट भईरहेको र निकट भविष्यमा अन्य जिल्लाहरुमा पनि भर्ना छनौट केन्द्र तोकिने बताउनु भयो । त्यसैगरी नेपालको इतिहासको प्रवर्द्धन गर्दै नेपाली संस्कृति र परम्परा प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने उद्देश्यले मधेश प्रदेशको समन्वय र सहकार्यमा “नेपालको शान, मधेश प्रदेशको पहिचान राष्ट्रिय एकता हाम्रो अभियान” एकीकरण स्मृति उद्यान (Unification Memorial Park) जितपुर-सिमरा उप महानगरपालिका वडा नं.९ स्थित जितपुर ब्यारेक हाताभित्र निर्माण भइरहेको बताउनु भयो । सो अवसरमा प्रधान सेनापतिले मधेश प्रदेशका हरेक जिल्लाहरूबाट सर्वसाधारण नागरिकका जेहेन्दार १ छोरा र १ छोरी गरेर जम्मा १६ जनालाई सैनिक विद्यालय बर्दिबासमा पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने जानकारी पनि गराउनु भयो ।

सम्मेलनमा रौतहट निवासी ९३ (त्रियानब्बे) वर्षका सिपाही डिल्ली बहादुर खड्का (अ.प्रा.) र स्वर्गीय सिपाही महिन्द्र प्रसाद उपाध्याय (अ.प्रा.) को श्रीमती सिराहा निवासी ९३ (त्रियानब्बे) वर्षकी  श्रीमती दान कुमारी कोइरालालाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट लघुउद्यमी/व्यवसायीहरु दुई जनालाई प्रशंसा-पत्र एवं पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा चार वा सो भन्दा बढी सन्ततिहरु नेपाली सेनामा रहेका ३ (तीन) जना अभिभावकहरुलाई सम्मान, फरक क्षमता भएका तथा अशक्‍त १० (दश) जनालाई व्हिल चेयर, बैसाखी तथा आर्थिक सहयोग र विभिन्न सहुलियतपूर्ण कर्जा प्राप्त गर्ने व्यक्तिहरुलाई कर्जाको चेक वितरण गरिएको थियो ।

भू.पू. सैनिकहरुको तर्फबाट प्रादेशिक रथीबृन्द प्रतिनिधि उपरथी डा. सुनिल कुमार सिंह (अ.प्रा.) तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघका महा सचिव प्रमुख सेनानी श्याम सुन्दर घिमिरे (अ.प्रा.) ले मन्तव्य राख्नुहुंदै अवकाशप्राप्त सैनिक र आश्रित परिवारजनलाई पुर्‍याउँदै आएको सहयोगका लागि नेपाली सेना प्रति आभार प्रकट गर्नुभयो । बलाध्यक्ष रथी सिताराम खड्काले समापन मन्तब्य राख्नुहुंदै कल्याणकारी गतिविधिलाई सरल, सहज र बिस्तार गर्न निरन्तर प्रयास भैरहेको कुरा बताउनु भयो ।

समारोहमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरु, नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी गौरव तण्डुल (अ.प्रा.), कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उपरथी राम बहादुर गुरुङ्ग (अ.प्रा.) र उपरथी देवेन्द्र बहादुर मेधासी (अ.प्रा.), प्रदेश सरकारका निमित्त प्रमुख सचिव, बर्दिवास नगरपालिकाका उप प्रमुख, प्रदेश तथा जिल्लास्थित अन्य सुरक्षा निकायका पदाधिकारीहरू, नेपाल ईन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारहरुका साथै संचारकर्मीहरुको उपस्थिति रहेको थियो । त्यस अवसरमा भू.पू. सैनिक तथा एकल महिलाहरुको तर्फबाट मार्चपाष्ट लगायत स्थान विशेषको झाँकी, विभिन्न संस्कृति झल्किने नृत्य, राष्ट्रिय सेवादलका क्याडेटद्वारा नृत्य र सैनिक व्याण्डको प्रस्तुती प्रदर्शन गरिएको थियो ।

सम्मेलनकै अवसर पारेर चैत्र १८, १९ र २० गते  बर्दिवास ब्यारेकमा स्वास्थ्य शिविर संचालन गरि MOPD, Surgical, ENT, Dental, Ortho, Gynae, Paediatrics, Eye, Pathology, X-ray, USG, ECG, Physiotherapy, Dermatology लगायतका स्वास्थ्योपचार सेवा प्रदान गरिएको छ ।

यसै क्रममा मिति २०७९ चैत्र २१ गते सिन्धुली, दोलखा र रामेछापमा भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने कार्यक्रम छ । सम्मेलनमा अवकाश प्राप्त सैनिकहरुलाई भेटघाट र अनुभव आदानप्रदान गर्ने अवसर मिल्नुका साथै सैनिक नेतृत्वसँगको अन्तरक्रियाबाट कल्याणकारी कार्यहरूलाई थप प्रभावकारी बनाउँदै लैजान महत्वपूर्ण सुझावहरू प्राप्त हुने विश्वास नेपाली सेनाले लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here