काठमाडौँ । नेपाली राष्ट्रिय महिला टिमले बुधबार भियतनामसँग पहिलो पटक प्रतिस्पर्धा गर्दैछ। एसियाली वुमेन्स ओलम्पिक छनोट समूह ‘सी’को दुबै खेल नेपालमा आयोजना हुँदा पहिलो खेलमा दशरथ रंगशालामा नेपाल इतिहासकै बलियो टिमसँग भिड्न लागेको हो।
फिफा वरीयतामा भियतनाम ३३ औँ स्थानमा रहँदा नेपाल भने १०० औँ स्थानमा छ। नेपाल आफूभन्दा ६७ स्थान माथिको टिमसँग प्रतिस्पर्धा गर्दैगर्दा एउटा नयाँ इतिहास बनाउने प्रयासमा हुनेछ। नेपालले सन् १९८६ देखि अन्तर्राष्ट्रिय फुटबल खेल्न थाले पनि भियतनामसँग पहिलो पटक भिड्दा यो स्तरको बलियो टिमसँगको नेपालको पहिलो भेटका रुपमा रहने छ।
भियतनामसँगको भेटअघिको प्रि–म्याच प्रेस कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक अन्नतराज थापाले वरीयताले भियतनाममाथि रहे पनि आफ्नो टिमको क्षमतामा विश्वास रहेको भन्दै नतिजा आफ्नो पक्षमा पार्ने विश्वास व्यक्त गरे।
उनले भने, ‘भियतनाम विश्वकप खेल्न लागेको टिम हो। बलियो विपक्षी टिम हो। तर हामीसँग विशेष तयारी र राम्रा खेलाडी छन्। त्यसैले हामी राम्रो नतिजा निकाल्ने विश्वासमा छौँ।’ उनले बलियो टिमविरुद्ध खेल्दा फाइदा हुने भन्दै भियतनामविरुद्ध आफ्नो क्षमता देखाउने अवसर नेपाललाई रहेको बताए।
दुई खेलको निर्णयका आधारमा शीर्ष स्थानमा रहने टिम अघिल्लो चरणमा प्रवेश गर्नेछ। चार टिम सहभागिता रहेको समूह भए पनि दुई टिम प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएकाले नेपाल र भियतनामबीच मात्र खेल हुन लागेको हो।
छनोटअगाडि भियतनामी टिमका प्रशिक्षक माइ चुङले नेपाली टिमले पछिल्लो समय राम्रो प्रदर्शन गरेको भन्दै सम्मान गर्ने बताए। उनले भने, ‘हामीले नेपालले खेलेका पछिल्ला केही खेल हेरेका छौँ र हामी नेपाललाई बलियो प्रतिद्वन्द्वी मान्छौँ।’ यस्तै, भियतनामी टिमका कप्तान ह्युन न्ह्युले पनि नेपालविरुद्ध सतर्क भएर खेल्ने बताइन्।
उनी पोर्चुगलमा व्यावसायिक फुटबल खेल्छिन् र भियतनामी महिला फुटबलकी सबैभन्दा ठूलो स्टार हुन्। नेपाली टिमकी कप्तान एन्जिला सुब्बाले भियतनाम फिफा वरीयता धेरै माथि रहे पनि बलिया टिमलाई हराएको अनुभव नेपालसँग भएकाले आफूहरु वरीयताभन्दा मैदानमा छिरेपछि जित्नका लागि प्रयास गर्ने बताइन्।


















