जनकपुरधाम । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले १० वैशाखको उपनिर्वाचनपछि प्रदेश सरकारहरू फेरबदल हुने र आलोपालोमा मुख्यमन्त्री बन्ने जनाएका छन् ।
जनकपुरधाममा संचारकर्मीहरूसँग कुराकानी गर्दै खाँणले उपनिर्वाचनपछि प्रदेश सरकारहरू फेरिने बताएका हुन् ।
प्रदेश सरकार फेरेर आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको दाबीसमेत उनले गरे ।
‘सत्ता गठबन्धनमा आवद्ध दलबीच ७ वटै दलबीच आलोपालोमा मुख्यमन्त्री बनाउने सहमति भएको छ’ खाँणले भने, ‘उपनिर्वाचनपछि प्रदेश सरकारबारे निर्णयमा पुग्छौं । सत्ता गठबन्धनमा रहेका दल प्रदेश सरकारमा पनि सहभागी हुनेछन् ।’
तर उनले भागबण्डामा कुन प्रदेशको मुख्यमन्त्री कुन दलले पाउने भन्ने बताएनन् । यस अघिको समीकरणको आधारमा कोशी, गण्डकी र लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार छ ।
मधेसमा जसपा, बाग्मती र कर्णालीमा माओवादी र सुदूरपश्चिममा कांग्रेस नेतृत्वको प्रदेश सरकार छ ।
यस अघि एमाले र माओवादीबीचको सत्ता समीकरण थियो । तर केन्द्रमा एमालेको सट्टामा कांग्रेस माओवादीको सत्ता सहयात्री दल भएको छ । यसैले केन्द्रीय सत्ता समीकरणकै आधारमा प्रदेश सरकारहरू पनि फेरिने र आलोपालोमा मुख्यमन्त्री हुने खाँणले बताएका हुन् । खाँण कांग्रेसमा सभापति शेरबहादुर देउवा निकटका नेता हुन् ।


















