दाङ । दाङको तुलसीपुर र सल्यानको लुहाम जोड्ने सुरुङ मार्ग बनाउन पहल सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यो योजनालाई यसै वर्षको बजेटमा समेट्ने गरी आवश्यक प्रक्रिया अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ ।
सुरुङ्गमार्गको पहलकर्ता मध्येका एक माओवादी केन्द्रका नेता तिलक मल्ल क्षितिजले प्रधानमन्त्री कार्यालयको पत्र सामाजिक सन्जालमा सार्वजनिक गर्दै सुरुङ्ग मार्ग बनेमा दाङ–सल्यानको विकासका लागि कोशेढुंगा सावित हुने दाबी गरेका छन् ।
तुलसीपुरदेखि लुहामसम्मको दुरी ४३ किलोमिटर छ । यदि यहाँ सुरुङ मार्ग बनेमा यात्रामा लाग्ने समय अवधि छोटिने मल्ल बताउँछन् । ‘सुरुङ मार्ग बनेमा करिब १० किलोमिटर दुरी छोटिने अनुमान छ,’ उनले भने, ‘त्यसैले सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि आगामी बजेटमा व्यवस्था गराउन पहल गरिरहेका छौं ।’
सल्यानको त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावत भन्छन्, ‘यहाँका जनताको विशेष माग राप्ती राजमार्ग राम्रो हुनुपर्छ भन्ने छ । त्योसँगै सुरुङ मार्ग बनिदिए त राम्रो हुन्थ्यो भन्ने पनि छ ।’

स्थानीयमा तत्काल राप्ती राजमार्गलाई स्तरोन्नती गर्दै फराकिलो बनाउने र त्यसपछिमात्रै सुरुङ मार्ग बनाउँदा राम्रो हुने मत रहेको सल्यानका अर्का एक राजनीतिक दलका नेताले बताए । ‘सुरुङ मार्गको पहल त भइरहेको छ तर बन्ला भन्नेमा स्थानीयमा शंका छ । किनभने सुरुङ मार्ग बनाउँदा लाग्ने खर्च, समय सबै देखिएकै छ । त्यसैले कतिपयमा शंका हुनु स्वाभाविक हो ।’ उनले भने ।
त्रिवेणी गाउँपालिकाका पूर्वअध्यक्ष मानबहादुर डाँगीको पालामा सबै राजनीतिक दलहरुले लुहाम क्षेत्रको स्थलगत अध्ययन गरेका थिए । त्यसयता सुरुङ मार्गका लागि पालिकास्तरबाट कुनै निर्णय वा पहल नभएको हालका गाउँपालिका अध्यक्ष रावत बताउँछन् । अहिले भने जिल्लाका राजनीतिक दलहरुले यसबारे बहस चलाउँदै पहल पनि गरिरहेको उनको भनाइ छ ।
राप्ती राजमार्गलाई लुम्बिनीलाई रारासँग जोड्ने रणनीतिक मार्गको रुपमा पनि लिइन्छ । त्यसैले यसको स्तरोन्नतीसँगै सुरुङ मार्ग बनाउन पनि पहल भइरहेको माओवादी केन्द्रका नेता मल्ल बताउँछन् ।


















