काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न गरेका छन्।
बैंकको टीकापुर शाखाद्वारा टीकापुर नगरपालिका-१ कैलालीमा अवस्थित जालवा देवी सेवा समितिलाई आठ थान सिसि क्यामरा हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ। मन्दिर परिसरभित्र रहेका सभागृह, मन्दिर आदिमा सम्भावित चोरी, निकासी तथा अन्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको बैंकले जनाएको छ।
टीकापुर शाखाका प्रमुख पदम बहादुर कठायत र टीकापुर नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष मोहन विकले सयुक्त रुपमा जालवा देवि सेवा समितिका अध्यक्ष श्री हर्क बहादुर रावललाई सामग्री हस्तान्तरण गरेका हुन्।
त्यसैगरी, बैंकको महेन्द्रनगर शाखाद्वारा समाज कल्याण अञ्चल बाल अनाथालयलाई खाद्यान्न, झोला, खेलकुद सामग्री तथा अन्य आवश्यक सामग्री हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ।
अनाथालयमा रहेका २६ बालबालिकाको आधारभूत आवश्यकता परिपूर्ति गर्नका लागि बैंकले आनाथालयलाई उक्त सहयोग गरेको हो।
महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्ला र कन्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले सयुक्त रुपमा समाज कल्याण अञ्चल बाल अनाथालयका कार्यवाहक अध्यक्ष दिवाकर भट्टलाई सामाग्री हस्तान्तरण गरेका थिए।
उल्लेखित कार्यक्रम सँगसगै बैकको डडेलधुरा शाखाद्वारा अमरगढी नगरपालिका वडा नं ८ मा अवस्थित उग्रतारा वेद विद्याश्रमका लागि आवश्यक खाद्यान्न हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
विद्याश्रममा अध्ययनरत ३० बटुकहरुको दैनिक आधारभुत आवश्यकता पुरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले विद्याश्रमलाई उक्त सहयोग प्रदान गरेको हो।
सुदूरपश्चिम प्रदेशका नायव प्रदेश प्रबन्धक तथा डडेल्धुरा शाखाका प्रमुख चेत पाण्डेले उग्रतारा वेद विद्याश्रमका प्राचार्य प्रेमराज भट्टलाई सामग्री हस्तान्तरण गरेका थिए।

















