काठमाडौं । प्रतिनिधि सभाको शून्य र विशेष समयमा उठाइएका प्रश्नको जवाफ नपाएकोमा सांसदहरूले फेरि पनि गुनासो गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले नियमावलीको व्यवस्था ध्यानाकर्षण गराएका हुन्।
‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५ (२) तिर नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। जस अनुसार विशेष समय र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नहरूको सात दिनभित्र जवाफ दिनुपर्ने बाध्यात्मक/अनिवार्य व्यवस्था पनि हो’, उनले स्मरण गराए।
बडूले अहिलेसम्म कुनै प्रश्नको जवाफ आउन नसकेको पनि बताए। ‘त्यसकारण यो निरर्थक र अरण्यरोदनमा परिणत हुँदैछ यो समय। त्यसकारण म विशेष रुपले यो ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भने।
बुधबारकै बैठकको आकस्मिक समयमा बोलेका सांसद ज्ञानेन्द्र शाहीले आफूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीबाट सात दिनभित्र जवाफ चाहिने नत्र सदनमा खडा भएर उभिने बताएका थिए।
जवाफ नआएकै कारण चैत २४ गतेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले केहीबेर मौन रहेर विरोध जनाएका थिए।


















