काठमाडौं । मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्ग प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैक लिमिटेडले चालू आ.व. २०७९-८० को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकले यस त्रयमास सम्ममा खुद मुनाफातर्फ रू. ४.०१ अर्ब आर्जन गर्न सफल भएको छ, जुन वार्षिक विन्दुगत आधारमा ११ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २०.१७ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रति शेयर आम्दानी रू. ४६.७६ आर्जन गर्न बैंक सफल भएको छ ।
स्व–पूँजीमाप्रतिफल र प्रति शेयर आम्दानी २१ वटै वाणिज्य बैङ्कहरूमध्ये अग्रणी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जा अनुपातलाई तेस्रो त्रैमाससम्ममा ०.८५ प्रतिशतमा सीमित राख्न सफल भएको छ ।
एनआई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसङ्ख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसङ्ख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रूपमा स्थापित हुन बैंक सफल भएको छ ।
जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौँ ठुलो योगदान रहेको कम्पनीहरू मध्येको हो । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथावित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसङ्ख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।

















