मानवतावादि विचारधाराका विश्वचर्चित फुटबलर माने

30

काठमाडौं। लेस्टर सिटीविरुद्ध खेल खेल्नका लागि सन् २०१९ को डिसेम्बर २७ मा फुटबलर साडियो माने किङ पाउडर रंगशाला प्रवेश गर्दै थिए । त्यसक्रममा कसैले लिएको तस्बिरमा मानेले चर्केको आइफोन–११ चलाइरहेको प्रस्टैसँग देखियो । उक्त खेलमा मानेको टिम लिभरपुल ४–० ले विजयी भयो । तर खेलभन्दा बढी चर्चा भने मानेको चर्केको आइफोनको भयो ।

आखिर किन त ? त्यतिबेलै वार्षिक ११.५ मिलियन पाउन्डमा लिभरपुलमा अनुबन्धित मानेले चर्किएको फोन चलाउनुको पछाडिको कारण खोजी भयो । विभिन्न अनुमान र चर्चाहरू भए । कतिपय उनका फ्यानहरू त मानेलाई नयाँ आइफोन किनिदिन तयार पनि भए ।

तर उनले नयाँ फोन नकिन्नुका पछाडि कारण छुट्टै थियो । उक्त आइफोन मानेलाई लिभरपुलका टिममेट जर्गिन्होले दिएका थिए । एक त उपहार, त्यसमाथि चलिरहेको । त्यसैले त माने चाहन्थे– काम दिउन्जेल फोन प्रयोग गर्ने ।

वार्षिक करोडौं डलर कमाउने मानेले विलासिताबाट अलग हुने र यति साह्रै मितव्ययी हुनका पछाडिको कारण भने अर्कै छ । त्यो हो, उनको विगत । अभावै अभावमा हुर्किएका माने भन्ने गर्छन्, ‘मलाई किन १० वटा फरारी, २० वटा हिराका घडी र दुई वटा जेट विमान किन चाहियो ? त्यसले संसारलाई के गर्छ ?’

आफू ७ वर्षको हुँदा स्वास्थ्योपचार नपाएका कारण पिता गुमाएका मानेले आफ्नै गाउँमा अस्पताल बनाउनका लागि पाँच लाख पाउन्ड खर्च गरे । ‘मलाई अझै पनि याद छ, गाउँमा अस्पताल नभएका कारण मेरी बहिनी घरमै जन्मिएकी हुन् । यो वास्तवमै जो कोहीका लागि खराब अवस्था हो,’ गार्डियनसँगको अन्तर्वार्तामा मानेले भनेका छन् । मानेले निर्माण गरेको प्रसूति सेवासहितको अस्पताल २०२१ को जुनदेखि सञ्चालनमा आइसकेको छ । त्यस्तै, उनले कोभिड महामारी फैलिएसँगै सेनेगल सरकारलाई ४१ हजार पाउन्ड सहयोग गरेका थिए ।

‘मैले भोकभोकै खाली खुट्टा फुटबल खेलेको छु । पढ्ने उमेरमा विद्यालय जान पाइनँ । त्यसैले म मानिसहरूलाई सहयोग गर्न चाहन्छु । अनि, गरिबहरूको भोक मेटाउन र लाज ढाकिदिन चाहन्छु,’ एक अन्तर्वार्ताका क्रममा मानेले भनेका छन् । मानेले आफ्नो जन्मस्थान बाम्बलीमा २ लाख ५० हजार पाउन्ड खर्चेर माध्यमिक विद्यालय पनि बनाएका छन् । त्यसका साथै बाम्बली स्कुलका जेहेनदार विद्यार्थीलाई उनले निःशुल्क ल्यापटप र चार सय अमेरिकी डलरसमेत सहयोग गर्ने गर्छन् ।

मानेले चरम गरिबीले पिल्सिएका स्थानीयलाई आर्थिक सहयोग पनि गर्दै आएका छन् । सेनेगलका अत्यन्त गरिब क्षेत्रका मानिसहरूका लागि उनले महिनाको ७० युरो दिने गर्छन् । ‘मलाई कुनै विलासी कार, आकर्षक घर तथा व्यक्तिगत विमानहरू आवश्यक छैनन् । जिन्दगीमा मैले जे पाएँ, त्यसबाट थोरै भए पनि मेरा मानिसहरूले पाऊन् भन्ने चाहन्छु म,’ माने भन्छन् ।

फुटबलपछि परोपकारी कार्यमा क्रियाशील मानेले गत वर्ष पहिलो ‘सोक्रेट्स अवार्ड’ प्राप्त गरेका थिए । उक्त अवार्ड १९८० को सैनिक तानाशाहीविरुद्ध आन्दोलनमा सक्रिय ब्राजिली फुटबलर सोक्रेट्सका नाममा स्थापना गरिएको हो । सेनेगरको राजधानी डकारबाट ४ सय किलोमिटर टाढा बाम्बलीमा १९९२ मा जन्मिएका हुन् माने । फुटबलर बन्ने सपना देखेका माने १५ वर्षको उमेरमा नै साथीको सहयोगमा घर छाडेर थिए ।

उनको उत्कृष्ट खेलसँगै सेनेगलको जेनेरेसन फुट ‘बी’ डिभिजनमा उक्लिएपछि मेट्ज आकर्षित भएको थियो । २०११ देखि उनले जेनेरेसन फुटसँग साझेदारी रहेको मेट्जबाट व्यावसायिक फुटबल खेल्न थाले । त्यसपछि विभिन्न रेड बुल साल्जबर्गमा जमेर खेलेपछि उनी साउथह्याम्पटन पुगे । साथह्याम्पटबाट उनले एस्टन भिल्लाविरुद्ध प्रिमियर लिगकै सबैभन्दा छिटो १ सय ७६ सेकेन्डमा ह्याट्रिक गरेका थिए । २०१६ को सिजनमा लिभरपुल पसेसँगै माने, सलाह र ब्राजिलियन रोबर्टो फिर्मिनोको अग्रपंक्तिमा क्लबको दबदबा सुरु भएको हो । क्लबमा उत्कृष्ट प्रदर्शनसँगै २०२२ को जुनमा ६ वर्ष लामो लिभरपुल यात्रा टुंग्याउँदै उनी बायर्न म्युनिख लागे ।

जर्मन च्याम्पियनसँग तीन वर्षका लागि सम्झौता गरेका भए पनि गत नोभेम्बरमा घाइते भएपछि तीन महिना मैदान बाहिर रहे । उपचारपछि फेब्रुअरीपछि भने उनी फेरि खेलमा फर्किएका थिए । तर, अप्रिल १३ मा टिममेटलाई ड्रेसिङ रुममा मुक्का हानेको रिपोर्टपछि बायर्नले उनलाई जरिवानासहित निलम्बन गरेको छ ।

मानेले दुई पटक अफ्रिकन वर्ष खेलाडीको उपाधि जितिसकेका छन् । पहिलो पटक २०१९ र अर्को, २०२२ मा । गत वर्ष अफ्रिकी वर्षको उत्कृष्ट फुटबलर हुने क्रममा मानेले सेनेगलबाटै चेल्सीका गोलरक्षक इडोउर्ड मेन्डी र लिभरपुलमा सँगै खेलेका इजिप्टका मोहम्मद सलाहलाई पछि पारेका थिए । अघिल्लो पटक उनले सलाह र अल्जेरियाका रियाद महरेजलाई उछिनेका थिए । माने उक्त उपाधि पाउने सेनेगलका दोस्रो खेलाडी हुन् ।

मानेको उत्कृष्ट प्रदर्शनसँगै सेनेगलले पहिलो पटक २०२२ को अफ्रिकन कप अफ नेसन्स उपाधि चुमेको थियो । फाइनलमा इजिप्टलाई पराजित गर्दा मानेले नै पेनाल्टी सुटआउटमा विजयी गोल गरेका थिए ।

सलाह र मानेले गत सिजन लिभरपुललाई एफए कप र लिग कपको उपाधि दिलाउन तथा प्रिमियर लिग र च्याम्पियन्स लिगको फाइनलमा दोस्रो स्थान दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

एजेन्सीहरूको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here