लन्डन । एक जना ब्रिटिस विज्ञले नेपाली बैंकहरु साइबर हमलाको उच्च जोखिममा रहेको बताएका छन्।
नेपाली दूतावास लन्डनद्वारा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ब्रिटिस सरकारको परामर्शदाताको रुपमा नेपाली बैंकहरुको सुरक्षा प्रणालीको अध्ययन गरेका रिचार्ड स्लेटरले नेपाल, खासगरी नेपाली बैंकहरु, साइबर हमलाको उच्च जोखिममा रहेको बताए। उनले नेपाली बैंकहरुलाई आफ्नो बैङ्किङ प्रणालीलाई सुरक्षित बनाउन थप काम गर्न सुझाव पनि दिए।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा युवा, शिक्षित तथा मिहिनेती जनसंख्या बढ्दै गएको र सामाजिक, आर्थिक क्षेत्रमा फड्को मार्न नेपाल तयारी अवस्थामा रहेको बताए। नेपाललाई सूचना प्रविधिको ‘हब’ को रुपमा विकास गर्न नेपाल सरकारले सूचना प्रविधि विज्ञहरु, निजी क्षेत्र, तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग सहकार्य गर्न खोजिरहेको उनले बताए। उनले ब्रिटिस कम्पनीहरुलाई नेपाली कम्पनीहरुसँग मिलेर काम गर्न र नेपालमा लगानी गर्न आग्रह पनि गरे।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले नेपाल सरकारले विसं २०७६ मा डिजिटल नेपाल फ्रेमवर्क नीति पारित गरी कार्यान्वयन पनि गरिरहेको बताए। सरकारले देशका विभिन्न क्षेत्रमा सूचना प्रविधि पार्क स्थापना गर्ने योजना बनाएको जनाउँदै सहसचिव दत्तले सूचना प्रविधिको विकासका लागि नीति नियम परिमार्जन गर्न पनि सरकार तयार रहेको बताए।
‘नेपाललाई सूचना प्रविधिको ‘हब’ को रुपमा विकास गर्न आग्रह’
बेलायतमा मुख्यालय भएको कम्पनी जेनिस सलुसनका संस्थापक तथा मुख्य प्रविधि अधिकृत अन्जनी फुयालले नेपालका विश्वविद्यालय तथा कलेजहरुबाट वर्षेनी झन्डै ७० हजार युवाले विज्ञान, प्रविधि, इञ्जिनियरिङ तथा गणित सम्बद्ध विषयहरुमा स्नातक गरिरहेको बताए। उनले नेपालीहरुले नेपालमै बसेर विश्वका प्रमुख कम्पनीहरुको लागि काम गरिरहेको बताउँदै नेपाललाई सूचना प्रविधिको हबको रुपमा विकास गर्न नेपाल सरकारलाई नीति तथा योजना ल्याएर काम गर्न सुझाव दिए।
‘नेपाललाई सूचना प्रविधिको हबको रुपमा विकास गर्न सकिने उच्च सम्भावनालाई व्यवहारमा उतार्न नेपाल सरकारले ‘क्लाउड फर्स्ट’ नीति अपनाउनुपर्छ, वैदेशिक लगानीका लागि न्यूनतम सीमा घटाउनुपर्छ, सूचना प्रविधि शिक्षालाई प्रवर्द्धन गर्नुपर्छ र नेपालमा आएर काम गर्न चाहने दक्ष विदेशी जनशक्तिका लागि सरल भिसा प्रणाली अपनाउनु पर्छ,’ फुयालले भने।
नेपालमा लगानी प्रवर्द्धन गरिरहेको डोल्मा इम्प्याक्ट फन्डका प्रमुख कार्यकारी अधिकृत टिम गोचरले नेपालमा काम गर्दा आफुहरुले सरकार र निजी क्षेत्रबाट पर्याप्त सहयोग पाएको बताए। उनले नेपाली युवाहरु दक्ष, मिहिनेती र मिलनसार रहेको भन्दै आफ्नो कम्पनीले जलविद्युत र स्वास्थ्य क्षेत्रपछि अहिले सूचना प्रविधिमा पनि लगानी गर्न लागेको बताए।
कार्यक्रमको सञ्चालन लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव रामबाबु नेपालले गरेका थिए भने दूतावासकी उप नियोग प्रमुख रोशन खनालले धन्यवाद ज्ञापन गरेकी थिइन्।
















