काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले अयोग्य लडाकुहरुलाई छिटोभन्दा छिटो दुई लाख रुपैयाँ दिनुपर्ने बताएका छन् । त्यसवाफत् लाग्ने व्ययभार सरकारले जसरी पनि सम्हाल्ने उनको भनाइ छ ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पौडेलले आयोग्य लडाकुहरुलाई २ लाख रुपैयाँको दरले दिँदा करिव एक अर्ब रुपैयाँ खर्च हुने भन्दै सो रकम राज्यले व्यहोर्न सक्ने बताएका हुन् । अयोग्य लडाकुहरुलाई रकम दिँदा देश कङ्गाल र बर्बाद हुन्छ भन्नु राजनीतिक परिवर्तनका निम्ति लडेका योद्धाहरुको अपमान हुने उनको भनाइ छ ।
यो शान्ति प्रक्रियासँग पनि सम्बन्धित रहेको भन्दै पौडेलले अयोग्य लडाकुहरुलाई छिट्टै रकम दिनुपर्ने बताए । ‘जसको टाउकोमा अहिले पनि गोली छ । जसको छातीका दुईवटा करङ भाँचिएका छन् । त्यस प्रकारका व्यक्तित्वहरुलाई राज्यले सम्झिदाखेरी देश कंगाल बन्छ, भयानक ठूलो धनराशी खर्च भएर बर्बाद भयो भन्नेगरी कोकोहोलो गर्न खोजिँदैछ त्यो भनेको अपमान हो,’ उनले भने, ‘शान्ति प्रक्रियालाई पूर्णता दिने विषयसँग यो जोडिएको छ । उनीहरुले त्यो रकम छिट्टै प्राप्त गर्नुपर्छ ।’


















