काठमाडौं। सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक असरपार्ने रसायनहरु सो पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरिएको जनाएकी हुन् ।
महानिर्देशक वैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहहरुसँग मिलेर अघि बढाएको जनाइन्।

उनले भनिन्, ‘अहिले हामीले तुरुन्तै गर्न सक्ने एउटा कुरा चाँही टडकारो रुपमा देखिएको र खड्केको कुरा चाँही जुन न्युज पेपरहरुमा चटपटे, पानीपुरी लगायतको प्याक गरेर खाने जुन चलन छ । त्यसलाई तुरुन्तै हटाउनुपर्ने देखिन्छ । मालपुवा, सेलरोटीहरु पनि त्यही प्रिन्टेड कागजमा नै पोको पारेर दिने चलन छ । र, हामी त्यसरी समोसाहरु पनि खाइराखेका हुन्छौं । फुड प्वाइजन हुने भएकाले हामीले त्यसलाई नियन्त्रण गर्नका लागि तुरुन्तै प्रतिबन्ध लगाउनुपर्ने देखिन्छ।’
खाद्य स्वच्छताका लागि स्ट्रिट फुड र तरकारी तथा फलफूल बजार अनुगमनको कामलाई अझै तीव्रता दिन लागिएको पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

















