त्रिवि परीक्षामा प्रश्नपत्र वितरणमा चरम लापरबाही

12

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले परीक्षामा प्रश्नपत्र वितरण गर्दा शिक्षक तथा कर्मचारीहरूले चरम लापरबाही गरेको पाइएको भन्दै १५ गते सकिएको सबै परीक्षा रद्द गरेको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना जारी गरि विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत ४ वर्षे स्नातक तह बिएससी प्रथम वर्षको परीक्षामा लापरबाही भएको पाएपछि परीक्षा स्थगित गरि पुन: परीक्षा मिति तोकिएको जानकारी दिएको हो।

सूचनाअनुसार एनालिटिकल जाेमेट्री एण्ड भेक्टर एनालाइसिस विषयको परीक्षा पुन: जेठ ६ गते शनिबार सोही समय र परीक्षा केन्द्र हात्तिसार क्याम्पस धरानका परीक्षार्थीहरुको परीक्षा केन्द्र महेन्द्र क्याम्पसमा कायम गरिएको छ।

‘वैशाख १५ गते सम्पन्न भएको एनालिटिकल जाेमेट्री एण्ड भेक्टर एनालाइसिस विषयको प्रश्नपत्र वैशाख १३ गतेको दिन खोली विद्यार्थीहरूलाई वितरण गरेपश्चात पुन: फिर्ता लिई यस कार्यालयमा जानकारी नगराई पुन: १५ गतेको परीक्षामा प्रयोग गरेको जानकारी प्राप्त भएको छ,’ सूचनामा उल्लेख छ।

उक्त कार्यमा संलग्न भएका शिक्षक कर्मचारीहरूलाई आवश्यक कारबाहीको लागि सिफारिस भइसकेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

त्रिविको परीक्षामा यस्ता प्रश्नपत्र व्यवस्थापनमा लापरबाही यसअघिदेखि नै पटक-पटक हुँदै आएको छ। त्रिविको मानविकी संकायले २०७९ जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र अन्तर्गतको ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीति शास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको भन्दै विवाद उत्पन्न भएको थियो।

६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई वर्षको हुबहु मिलेपछि त्रिविले छानबिन समिति गठनसमेत गरेको थियो। यस्तै,०७९ को असार २२ गते व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि लिएको एमजिटी २०३ : अर्गनाइजेशनल विहेवियरको प्रश्नपत्र मोडर्न नेपाल कलेजको प्रि–बोर्डका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको तथ्य बाहिरिएको थियो। यसविरुद्ध परीक्षार्थीहरू सडकमा उत्रिँदै चर्को विरोध गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here