मुलुकका सबै नागरिकको मातृ भाषा जोगाउन प्रतिष्ठान प्रतिबद्ध

61

फिदिम । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले मुलुकका सबै नागरिकको मातृ भाषा जोगाउन प्रतिष्ठान प्रतिबद्ध रहेको बताउनुभएको छ।

पाँचथरको सदरमुकाम फिदिममा बिहीबार याक्थुङ प्रज्ञा प्रतिष्ठान र नौलो साहित्यिक बिहान प्रतिष्ठानले आयोजना गरेको मातृ भाषाको संरक्षणमा सरोकारवालाको भूमिका विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। नेपालमा बसोबास गर्ने सबै जातजातिका मातृ भाषालाई आर्थिक आर्जनसँग जोड्नुपर्ने उहाँको भनाइ छ।

‘‘स्थानीय भाषा साहित्य र संस्कृतिलाई पर्यटनसँग जोड्न सके संरक्षणसँगै मातृभाषीको जन जीविकामा टेवा पुग्छ। जसका लागि तीन तहका सरकारले कार्य योजना तयार गर्नु जरुरी देखिन्छ’’, राईले भन्नुभयो।

प्रज्ञा प्रतिष्ठानले मुलुकका सबै जातजातिले बोल्ने मातृ भाषा जोगाउन सरोकारवालासँग विमर्श गरेर एकीकृत योजना बनाउने तयारी गरिरहेको उहाँको भनाइ छ। कार्यक्रममा बोल्दै लेखक खगेन्द्र संग्रौलाले सरकारले कामकाजी भाषाका रुपमा नेपाली, अंग्रेजी र स्थानीय भाषालाई अनिवार्य गर्न सके मातृ भाषा संरक्षणमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो।

यसका लागि प्रत्येक कार्यालयले स्थानीय  स्तरमा बाहुल्यता रहेका समुदायले बोल्ने स्थानीय भाषासहित अंग्रेजी र नेपाली भाषालाई प्रयोगमा ल्याउनुपर्ने उहाँको धारणा थियो।

कार्यक्रममा किराँत याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष कमल तिगेला, प्राज्ञ सदस्य मुनराज शेर्मा र दिलेन्द्र कुरुम्वाङ र याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र जवेगु लगायतले मातृ भाषा संरक्षणका लागि परिवार समाज र राज्यले खेल्नुपर्ने भूमिका बारे धारणा राख्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here