काठमाडौं । संघीय संसदका विषयगत समितिको नेतृत्वमा तीन दलबीच सहमति जुटेको छ।
आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकमा विषयगत समितिको नेतृत्वमा सहमति जुटेको हो। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको बजेट अधिवेशन, संसदलाई प्रभावकारी बनाउने, विषयगत समितिहरू गठन लगायतका विषयमा छलफल भएको जानकारी दिए।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय सुनुवाइ समिति सभापतिहरूमा सहमति जुटाएको जानकारी दिए। उनले कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदीय समितिका सभापतिहरूको नामलाई अन्तिम रूप दिने बताए।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए। यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, दलका उपनेता सुवास नेम्वाङ र नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा प्रमुख सचेतक हितराज पाण्डे बैठकमा सहभागी थिए।


















