साँच्चै अब दौरा सुरुवाल सधैंका लागि विस्थापित हुने भो त ?

304

–चन्द्रप्रकाश बानियाँ

राष्ट्रिय पोशाकको निधो नहुनाले कहिले बाबुराम भट्टराईले “नबाँधेको टाई”को चर्चा समाजमा चल्छ, कहिले कालो टोपीसँग प्रचण्डले “बाँधेको टाई”को चर्चा चल्छ । सिङ्गो एमालेले लगाउने गरेको दौरासुरुवालको भने कहीँकतै चियोचर्चा चल्दैन । एमालेको ड्रेसकोड उसलाई परम्परावादीको बिल्ला भिराउने र यथास्थितिवादको पक्षपोषक ठह¥याउने मापदण्डको रुपमा लिने कित्ताको पनि देशमा राम्रै उपस्थिति छ । नयाँ संविधानले राष्ट्रिय जनावरको रुपमा गाईलाई स्थापित गरे पनि राज्यको औपचारिक पहिरनको व्यवस्था गर्न सकेन । नेपाली टोपी र दौरासुरुवालमाथि अंगे्रजी कोट झुण्डाउँदा अरुले त कस्तो देख्थे, के ठान्थे कुन्नी ? हामी नेपालीहरुलाई भने त्यो कक्टेल ड्रेस “हामै्र हो र निकै राम्रो छ” भन्ने भ्रम परेकै थियो । राणाकालमा भित्रिएको कोटले दौरासुरुवालसँग कहिले मितेरी लगायो भन्ने कुराको तिथिमिति एकीन नभए पनि दौरामाथिको कोटलाई नेपाली नै ठान्ने नयाँ पुस्ता जन्मिसकेको थियो । कमसेकम आफ्नो पोशाकको नाममा विदेशी कोट पहिरिनुमा कसैले हीनताबोध गर्दैनथ्यो । लाज पनि मान्दैनथ्यो । अप्ठेरोको अनुभूति पनि गर्दैनथ्यो ।

 
समय बलवान् छ । समय सन्दर्भमा हिजोको परिस्थिति मासियोे । फेरिएको त राजनीतिक व्यवस्था मात्र थियो तर त्यसले हाम्रो सामाजिक प्रचलन र रीतिस्थितिमा पनि दख्खल पु¥यायो । त्यही घानमा दौरासुरुवाल पनि पर्न गयो । त्यसमाथि थप परिवर्तित परिस्थितिमा क्षत्रीब्राह्मण समाजका नाममा खुलेका संस्थाहरुले दौरासुरुवाललाई आफ्नो पेवा बनाउने नादानी गरिदिनाले सम्भवतः त्यसले पुनः राष्ट्रिय पोशाकको मान्यता पाउनसक्ने सम्भावना ट¥यो भन्दा फरक पर्दैन । ब्राह्मणले धोतीकुर्ता र क्षत्रीहरुले भोटो कछाडलाई आफ्नो मौलिक पहिरन बनाउने बुद्धि पु¥याएका भए सायद दौरासुरुवालले राष्ट्रिय पोशाकको रुपमा पुनर्जीवन पाउनसक्ने सम्भावना रहन्थ्यो होला कि ? विदेशी भूमिमा त कस्तो प्रतिक्रिया आउँछ कुन्नी नेपालमा दौरासुरुवालमा ठाँटिएर हिँड्नु भनेको आफूलाई शोषक, सामन्त, शासक खसजातिको सदस्य भएको विज्ञापन गर्नुजस्तो हुने दिन आए !

 
दुई÷चार वर्ष अगाडिको कुरा हो । कान्तिपुरसम्बद्ध एकजना पत्रकारले पोशाककै कारणबाट सर्वोच्च अदालतमा आफूले भोग्नुपरेको अपमानपूर्ण व्यवहारको नालीबेली अलिकता फुलबुट्टा भरेर र अलिकता नुनचुक दलेर सार्वजनिक गर्न आफू संलग्न छापाको उपयोग गरेथे । बिचरा, ‘प्रिन्टेड टीसर्ट’ लगाएर इजलाशमा पस्न नदिइएको मात्र होइन कि भित्र छिरिसकेका उनलाई बाहिर निकालिएछ । बाहिर निस्कन आदेश गरिएछ । अवश्य, नेपालका अदालत इजलाशहरुमा सबै न्यायाधीशहरु बकाइदा दौरा, सुरुवाल, कोट, टोपीमै सजिएर हाजिर हुन्छन् । पञ्चायतले बसालेको “डे«सकोड”को त्यो परम्परा अन्त जताततै नामेट भैसके पनि अदालत यौटामा बाँकी नै छ । बहसपैरवीका निमित्त इजलाशमा उपस्थित हुने कानुनव्यवसायीहरुले कालोकोट (गाउन) लगाउने अन्तराष्ट्रिय परम्परालाई नेपालमा पनि निरन्तरता दिएकैै छन् । तर झगडियाहरु वा आम जनता अदालतमा उपस्थित हुनका निम्ति कुनै पोशाक तोकिएको छ जस्तो लाग्दैन । त्यसैले पत्रकारबन्धुले तोकिएको ड्रेसकोड अनुपालन नगरेकोमा होइन, अमर्यादित पोशाक लगाएकोमा निष्कासित (दण्डित) भएका होलान् भनेर अनुमान गर्न सकिन्छ ।

 
०६२÷६३ को राजनीतिक परिवर्तनपछि मन्त्री/प्रधानमन्त्रीहरुको शपथग्रहणका लागि समेत कुनै निश्चित डे«सकोड नतोकिएको नेपालमा पत्रकारहरुको नौरङ्गी पोशाक कुनै पनि अड्डा अदालतहरु प्रवेशमा बाधक बन्ने कुराको अनुमान कसरी हुनसक्छ र ? “जहाँ पुग्दैनन् रवि, त्यहाँ पुग्छन् कवि” भनेजस्तो पत्रकारहरुको पहुँच नभएको ठाउँ आजको दुनियाँमा कहाँ होला र ? पत्रकारहरु नपुग्नुपर्ने ठाउँमा पनि पुग्छन्, नलेखिनुपर्ने कुराहरु पनि लेख्छन् र नखोलिनुपर्ने गोप्यताहरु पनि सार्वजनिक गरिदिन्छन् । सम्बन्धित पक्षको अनुमतिविना नै समाचारहरु संकलन गर्नुपर्ने भएको हुनाले पहिचान खुल्ने पोशाक पत्रकारहरुका लागि रुचिकर हुँदैन । व्यावहारिक पनि मानिँदैन सायद ।
त्यसदिन संयोगवश विनासूचना, विनाअनुमति लुसुक्क इजलाशभित्र छिरेका पत्रकारको अमर्यादित पोशाकमा न्यायाधीशका तिखा नजर परे होलान् । उसै पनि लेख्नुपर्ने नपर्ने सबैकुरा सार्वजनिक गरिदिएर लाजमर्दो अवस्थामा पु¥याइदिने साइदुवा पत्रकारलाई अमर्यादित पोशाकमा ठाँटिएर आएको देखेपछि न्यायाधीशको दुर्वासा क्रोधाग्नि भड्कनु स्वाभाविक थियो । रिसको झोकमा कसले पो गीता पाठ गर्छ र ? तुरुन्त इजलास छोड्ने आदेश भएछ । अदालतको आदेश उल्लङ्घन गर्नु मिलेन । अमिलिएको अनुहार लिएर लोप्रेकान लगाउँदै बाहिरिएका पत्रकारले भङ्गेराका टाउका जत्रा अक्षरमा त्यही विषयलाई समाचार बनाएर आफ्नो पत्रिकाको पाना भरिदिए । आफूमा भएको सामथ्र्य र सुविधाको प्रयोग कसले गर्दैन र ? नामर्दको हतियार ‘रुञ्चे गाली’ मानिन्छ । जे होस्, त्यो घटनापछि कुनै पनि पत्रकारले अदालती कार्यवाहीको रिपोर्टिङ गर्न अमर्यादित पोशाकमा अदालतपरिसर छिर्ने हिम्मत सायदै गरे होलान् !

 
पोशाक भनेको ज्यान छोप्ने साधन मात्र होइन, परम्परा र मर्यादाको परिचायक पनि हो । हिन्दू धर्मसंस्कारमा सेतोवस्त्रलाई शुद्ध स्निग्ध मात्र होइन, शोकको परिचायक मानिन्छ । स्वभावतः हिन्दू शोकसभामा कालोवस्त्र लगाएर उपस्थित हुनुलाई अमर्यादित व्यवहार मानिन्छ । डे«सकोड तोकिएको ठाउँमा विना औपचारिक पोशाक उपस्थित हुनु असभ्यता ठहर्छ । मर्यादा उल्लङ्घन मानिन्छ । प्रायः सबै देशहरुमा कुनै एउटा डे«सलाई आफ्नो राष्ट्रिय पोशाकको मान्यता दिइएको हुन्छ । पञ्चायतकालमा दौरा, सुरुवाल, कोट, टोपीलाई ‘नेपाली राष्ट्रिय पोशाक’ मानिन्थ्यो । २०४६ को राजनीतिक परिवर्तनपछि त्यसलाई निरन्तरता दिइए पनि पञ्चायतकालको जस्तो कडाइ थिएन । ०६२÷६३ पछि त दौरासुरुवालको राष्ट्रिय पोशाकको मान्यता खोसियो । आजपर्यन्त त्यो पदवी अर्को कुनै पोशाकले पाएको छैन । त्यही स्वतन्त्रताको उपयोग पत्रकारले गरेर त्यस्तो ठूलो गल्ती गरेकै हुन् भन्न त मिल्दैन । तर अदालतको आज्ञाका अगाडि कसको के लाग्छ र ?

 
२०४० सालतिर हो क्या रे पश्चिमाञ्चल क्षेत्रको भ्रमणको सिलसिलामा तत्कालीन राजा वीरेन्द्रको सवारी म्याग्दीको बेनीमा चलाइएको बेला थियो । राजाले सम्बोधन नगरे पनि सार्वजनिकरुपमा जनताहरुको दर्शन चाकडी ग्रहण गर्थे । छानिएका मानिसहरुलाई दर्शनभेट दिन्थे । त्यही सन्दर्भमा बेनी दोबिल्लास्थित खुलामञ्च दुलहीझैं सिँगारिएको थियो । पञ्च र विशिष्ट मानिसहरुलाई बस्ने सुविधा त हुँदैनथ्यो तर उभिनका लागि मञ्चछेउ तारबारले घेरेर अलग्गै स्थान बनाइएको थियो । मञ्चमा विराजमान भएका राजासमक्ष तलैबाट पालैपालो जदौ गर्ने अवसर पञ्चहरुले पाउँथे । तिनताका पञ्चको धाक रवाफले शिखर छोएको समय थियो । राजा र देश सिंगै उनीहरुकै बपौती बराबर मानिन्थे । राजाको दर्शन कसले गर्न पाउने वा नपाउने भनेर निर्णय गर्ने कुरामा पनि उनीहरुकै मर्जी चल्थ्यो । त्यतिबेला पञ्चपरमेश्वरको निगाहस्वरुप राजाको दर्शनभेट पाउने सूचीमा दरिएका भाग्यमानीहरुले दौरा, सुुरुवाल, टोपीमा सजिएर तारबारको घेराभित्र तङ्रिने सौभाग्य पाउँथे । निगाह नपाउनेहरु टाढैबाट राजाको एक झल्को दर्शन पाउने आशामा तारबार बाहिर टङ्चिएर बस्नुपथ्र्यो । तारबारभित्र उभिएका म्याग्दीका तत्कालीन महापञ्च भीमप्रसाद गौचनको आँखा तारबार बाहिरका एकजना मान्छेमाथि परेछ । उनलाई गौचनले तारबारभित्र छिराएको देखियो । महापञ्चको विशेष निगाह प्राप्त गर्ने ती भाग्यमानीतिर स्वभावतः सबैका आँखा पर्ने नै भए । ती भाग्यमानी थिए, “ठाडाखानीका मेजर” !

 
टोपी नलगाईकन त जिल्ला प्रशासनभित्र छिर्न पनि सर्वसाधारणले अनुमति नपाउने त्यो जमानामा राजाको दर्शनभेटका लागि बथानबाट मोटो खसीझैं छानेर भित्र छिराइएका मेजरकाकाको डे«स भने अनौठो थियो । हरियो रंगको ट्«याकसुट, खुट्टामा हवाई चप्पल र शिरमा खैरोरंगको छत्रे टोपी ! डे«सकोडको कडाइ गरिने त्यस्तो विशेष अवसरमा पनि पहुँच पुग्नेहरुले मनोमानी गर्थे । बलिया पञ्चहरुलाई कसैले छेकथुन गर्न सक्तैनथ्यो । राजाको दर्शनका लागि लवेदा, सुरुवाल, कोट र टोपीमा सजिएका पञ्चहरुको पल्टनका बीच मेजरकाका “हाँसको बीचमा बकुल्लो” जस्तो बनेका थिए । मेजर काकाको अपमान नगरौं र मान राखौं भन्ने हो भने जंगी जिउडालका मेजर काका दर्शनार्थी टोलीका क्याप्टेन जस्तो देखिएका थिए भन्नु उपयुक्त हुन्थ्यो ।

 
त्यतिबेलासम्म महापञ्च भीमप्रसाद गौचन म्याग्दी जिल्लाका हकमा “विनातिलकका राजा” समान मानिन्थे । उनका अगाडि ऐन, कानुन, रीतिरीवाज, परम्परा र मर्यादा आदिको कुनै अर्थ थिएन । उनको बोलीले कानून बराबर मान्यता पाउँथ्यो, कार्यान्वयन हुन्थ्यो । डे«सकोड विनाका मेजर काकालाई राजाको अगाडि उभ्याउने गौचनको जंगी आज्ञाविरुद्ध चुइक्क बोल्ने हिम्मत तत्कालीन प्रशासनले राख्न सक्ने कुरै भएन । तर पछि राजाका एडिसीहरुबाट भने गौचनले खप्की खाएथे रे भन्ने सुुनिएथ्यो । त्यतिबेला औपचारिक पोशाकविना जो कोही पनि राजाको अगाडि जान वर्जित मानिन्थ्यो र त्यस्तो दुस्साहस गर्नु राजाको अपमान गर्नु ठानिन्थ्यो भन्ने कुरा विचरा गौचनजीको जानकारीमा थिएन होला ? “नपाउनेले केरा पायो, बोक्रैसमेत खायो” भनेको साँचै त हो नि । आखिर गौचनमा पनि “लाहुरे सँस्कृति”को छाप कहाँ मेटिइसकेको थियो र ?

 
उसो त दौरासुरुवाल उति सजिलो पोशाक होजस्तो लाग्दैन । लबेदाका तुना र सुरुवालको इजार खोल्न बाँध्न अभ्यस्त हुन समय लाग्छ । बकाइदा प्रशिक्षण नै लिनुपर्ने हुन्छ । बेला न कुबेला तिनले चुँडिएर मानिसको फजिति गरिदिन्छन् । मन्त्रालयको बाथरुमभित्र छिरेका सिपी मैनालीको “प्राविधिक कठिनाइ” को चर्चा अहिलेसम्म हुनेगर्छ । दौरासुरुवाललाई राष्ट्रिय पोशाकको दर्जा दिलाएको पञ्चायती व्यवस्थाले हो क्यारे ? पञ्चायतपूर्व त्यस्तो मान्यता पाएको थिएन । तर एउटा वास्तविकता के थियो भने दौरासुरुवालले राष्ट्रिय पोशाकको मान्यता नपाइसकेको समयमा पनि दुलहाको पोशाकको मान्यता भने पाएको थियो । सेतो रङ्गको दौरासुरुवालमाथि सेतै पटुका, शिरमा सेतै साफा, साफामा माउर जडिन्थ्यो । आजकाल कताबाट कसले ढाकाको दौरासुरुवालको चलन चलायो कुन्नी ? सम्भवतः भारतीय समाजमा लगाइने बुट्टेदार सेरवानीको नक्कल गरिएको होला कि ?! दुलहाले ढाकाको दौरासुरुवाल पहिरिने चलन आए पनि जन्तीको निम्तो दिन भने एक जोडी सुटको व्यवस्था छ कि छैन भनेर सोध्ने जमाना आयो । सुटको जोहो गर्न सक्तैन भन्ने ठम्याइयो भने जति नै निकटसम्बन्धी भए पनि जन्तीको निम्तो नदिइने भैसक्यो ! भान्सा छिर्ने बेलामा धोती फेर्ने चलन त हाम्रा पुर्खाहरुले पनि चलाएकै हुन् । तर अफिस जाँदा, डिनर खाँदा, जन्त जाँदा, मर्निङ्गवाक गर्दा वा बैठक मिटिङमा जाँदा रङ्ग फेर्नुपर्ने पश्चिमा चलन कति अनुकरणीय हो कुन्नी ? तै तै जहिले जहाँ पनि काम लाग्ने भएपछि टाईसुटलाई नै नेपाली ड्रेसको मान्यता दिए हाई सञ्चो हुन्थ्यो कि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here