चट्याङबाट घाइतेहरू तीन दिनदेखि हिमाली भेगमै अलपत्र

79
खलंगा ।  चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा संकलकको उद्धार हुन सकेको छैन। उनीहरू तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन्।

तीन दिनपछि घाइतेको हेलिकप्टरबाट उद्धारको प्रयास गरिए पनि सफल हुन सकेको छैन। खराब मौसमका कारण दार्चुलाको व्यास गाउँपालिका–२ हुम्दुम्तीमा चट्याङ लागेर भएकाको उद्धार हुन नसकेको हो। घाइतेको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर सदरमुकाम खलंगामै थन्किएको छ।

उद्धारका लागि साँझ ४ बजे हेलिकप्टर खलंगा आइपुगे पनि मौसममा खराबी आएपछि घाइते रहेको स्थानमा जान नसकेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।

‘मौसम अनुकूल नभएका कारण आज घाइतेको उद्धार हुन सकेन,’ उनले भने, ‘मौसममा सुधार आए मंगलबार बिहानै घाइतेको उद्धारमा लाग्छौं।’

घाइतेलाई हुमदुम्तीबाट मलकोटसम्म ल्याइपुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

शनिबार साँझ चट्याङ लागेर ब्यास गाउँपालिकाको हुमदुम्तीमा तीन जना यार्सागुम्बा संकलक घाइते भएका थिए। चट्याङ लागेर दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका हुन्।

उनीहरू गाउँलेसँगै यार्सागुम्बा संकलनका लागि हिमाली भेग उक्लेका थिए। दार्चुलाको हिमाली भेगमा जेठदेखि असार अन्तिम सातासम्म यार्सागुम्बा संकलन गरिन्छ।  रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here