अर्थमन्त्री महिलामैत्री कि आरजुमैत्री ? आरोपितको पक्षपोषण किन ?

29
–प्रीति रमण
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने खेलमा ठूलो राजनीतिक गिरोह नै संलग्न भएको यतिबेला खुलेको छ । यो भ्रष्टाचारमा केही सानातिना व्यक्तिको गिरोह मात्र होइन, देशकै उपप्रधानमन्त्रीसमेत भइसकेका व्यक्ति समावेश भएको आरोपमा अहिले अनुसन्धान चलिरहेको छ । नेपालमा संगठित रुपमा कसरी भ्रष्टाचार हुने गरेको छ भन्ने यो एउटा उदाहरण हो । यो भ्रष्टाचारमा विभिन्न दलका नेताहरु संलग्न भएको आरोपमा पक्राउ परेका छन् । कांग्रेसका पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्वमाओवादी नेता तथा अहिले एमाले नेता टोपबहादुर रायमाझी लगायत नेतामाथि भ्रष्टाचार र राष्ट्रघाती अपराधमा मिलेमतो गरेको आरोप छ । राजनीतिक र विकास निर्माणको विषयमा सधैं आपसमा आरोपप्रत्यारोपमा ओर्लने, एकअर्काप्रति दुर्वचन बोल्ने र कहिल्यै सहमति नगर्ने नेताहरु भ्रष्टाचारको विषयमा भने मिलेमतो गरेको पनि खुलेको छ । यसले हाम्रो राजनीति देश र जनताको विकासकेन्द्रित हैन, भ्रष्टाचार केन्द्रित छ भन्ने पनि स्पष्ट हुन्छ ।
भ्रष्टाचारलाई मलजल गर्ने अर्को उदाहरण हो, यो प्रकरण बाहिर आएपछि शीर्ष नेताहरुको दौडधूप र भेटघाट । केही दिनअघि मात्र कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए । उनीहरु नै अहिले पार्टीका प्रमुख नेताहरु यो प्रकरणमा मुछिएपछि र कारबाहीको लहरो आफूसँग आइपुग्ने हो कि भन्ने डरमा छन् । त्यसैले अनुसन्धानलाई प्रभावित पार्न प्रहरी निकायलाई दबाब दिने खेलमा उनीहरु लागिसकेका छन् ।
यो प्रकरणमा एक दर्जनभन्दा बढी व्यक्ति पक्राउ परिसकेका छन् । केही फरार छन् । केहीमाथि आरोप लागे पनि पक्राउ परेका छन् । आरोप लाग्नेमा कांग्रेस सभापति देउवाकी पत्नी आरजू राणा र खाँण पत्नी मन्जू खाँण पनि छन् । मन्जू अहिले सम्पर्कविहीन छिन् भने आरजू आफूविरुद्ध अनुसन्धान बढेको देखिएपछि व्यक्तव्यबाजी र मिडियाबाजीमा उत्रिएकी छन् । देउवा प्रधानमन्त्री हुँदा र खाँण गृहमन्त्री हुँदा उनीहरुका श्रीमतीले छाया सरकार बनेर भ्रष्टाचार गरेको आरोप यसअघि पनि लागेको थियो । सञ्चारमाध्यममा आए पनि यस विषयमा अनुसन्धान भने अघि बढ्न सकेन । अहिले उनीहरु नै यो प्रकरणमा पनि संलग्न भएको आरोप लागेको छ । तर, सरकार भने उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन अझै हिच्किचाइरहेको छ ।
अर्कोतर्फ आरोपितलाई संरक्षण हुने गरी अहिले ठूला नेताहरु नै वक्तव्यबाजीमा पनि लागेका छन् । यसको पछिल्लो उदाहरण हो, अर्थमन्त्री डा. प्रकाशशरण महतको अभिव्यक्ति । देउवा निकट मानिने महत समानुपातिकबाट सांसद भएका हुन् । देउवाकै प्यानलबाट मन्त्री बन्न सफल भएका उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राणा देउवा र मञ्जु खाँणमाथि मिडिया ट्रायल भएको आरोप लगाएका छन् महतले डा. आरजु र मञ्जुमाथि मिडिया ट्रायल गरेर दोषी भन्न नहुने पनि जनाएका छन् । कांग्रेसका प्रवक्तासमेत रहेका डा. महतले मञ्जु खाण कहाँ छन् भनेर पार्टीले फलो नगरेको समेत जनाए । को कहाँ छन्, कहाँ गए, के गरे भनेर पार्टीले फलो गर्ने कुरा नभएको र उनीहरूमाथि मिडिया ट्रायल भइरहेको उनको भनाइ थियो । आरजू आरोपित नभएको र प्रमाण पनि नदेखिएको दाबी गर्दै उनले सामाजिक सञ्जालमा र मिडिया ट्रायल गरेर दोषी भन्न नमिल्ने जनाएका छन् भने यस विषयमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उनको भनाइ छ ।
सरसर्ती हेर्दा डा. महतको यो भनाइ आफ्नो पार्टीको एउटा नेतृको पक्षमा आएको देखिन्छ । यसले उनी र कांग्रेस पार्टी महिलामैत्री भएको र उनीहरुप्रति लाग्ने आक्षेपको विपक्षमा रहेको देखिन्छ । तर, अर्कोतर्फ भने कांग्रेस र स्वयं महत पनि आफ्नो पार्टीको प्रभावशाली व्यक्तिलाई आक्षेप लागेपछि अनुसन्धानका लागि सहज बनाउने भन्दा आरोपितको नै पषपोषण गर्न खोजेको छ । यो अभिव्यक्ति स्वयं महतका लागि त फाइदाजनक होला, तर देश र जनताको लागि, विधिको शासनका लागि, भ्रष्टाचारविरुद्धको अभियानका लागि भने घातक नै साबित हुनेछ ।
स्वयं आरजुले पनि नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम निष्कर्ष आओस् भनेर आफू आतुर रहेको जनाएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राणाले यस्तो जनाएकी हुन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्ररणमा को–को दोषी हुन् भन्नेबारे चाँडो छानबिन हुनुपर्ने उनको भनाइ थियो । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ’को दोषी हो, को होइन प्रष्टसँग आओस्’ भन्ने आफ्नो माग रहेको जनाएकी थिइन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियो छानबिनका लागि प्रहरीमा बुझाएको तर ६ दिनसम्म पनि रिपोर्ट नआएको भन्दै राणाले आपत्ति जनाएकी थिइन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले छानबिन गरोस् भन्ने आफ्नो माग रहेको राणाले जनाइन् । यो प्रकरणमा मुछिएको व्यक्तिले नै यस्तो अभिव्यक्ति दिँदा कांग्रेस पार्टी, जसले नेपालको राजनीतिमा लामो इतिहास बोकेको छ, उसले अनुसन्धानलाई प्रभावित पार्नेगरी प्रतिक्रिया दिनु उचित हुँदैन । यसले कांग्रेस पार्टी भ्रष्टाचारको मतियार रहेको जनमानसमा सन्देश जानेछ, जुन यो पार्टीका लागि आगामी दिनमा अधोगतिका लागि ठूलो धक्का हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here