काठमाडौं । सन् १९०५ मा आजकै दिन (जनवरी २५) मा दक्षिण अफ्रिाकामा विश्वकै सबैभन्दा ठूलो हीरा ‘कुलिनान’ पत्ता लागेको थियो । ट्रान्सभल प्रान्तको प्रिटोरियास्थित खानीमा भेटिएको हीराको नामकरण खानी सञ्चालक सर थोमस कुलिनानको नामबाट गरिएको हो । उक्त हीरा ३ हजार १०६.७५ क्यारेट (६२१.३५० ग्राम) को हो ।
खानीमा भेटिएपछि कुलिनानले हीरा ट्रान्सभल सरकारलाई बिक्री गरेका थिए । सरकारले पछि बेलायती राजा एडवार्ड छैटौंको जन्मोत्सवमा उक्त हीरा उपहार दिएको थियो । त्यसलगत्तै हीरा अफ्रिकाबाट लन्डन पुर्याइएको हो ।
९ वटा मुख्य तथा अन्य १०५ साना टुक्रामा विभाजित हीराको सबैभन्दा ठूलो टुक्रा ५३०.२१ क्यारेटको छ । कुलिनान–१ (ग्रेट स्टार अफ अफ्रिका) नामकरण गरिएको हीरा हाल विश्वको सबैभन्दा ठूलो हो । यसको हालको मृत्यु ४० करोड अमेरिकी डलर रहेको छ ।
त्यस्तै, ३१७.४० क्यारेटको कुलिनान–२ दोस्रो ठूलो टुक्रा हो । एडवार्डले राजदण्ड, श्रीपेच तथा अन्य गहना बनाउनका लागि कुलियान–१ र कुलियान–२ को प्रयोग गरेका थिए । यी हीरा अन्य रत्नहरूसँगै हाल बेलायतको ‘टावर अफ लन्डन’ मा राखिएको छ ।
















