कर्णाली प्रदेशमा मन्त्रीको पर्यटन क्षेत्रमा ध्यानाकर्षण

61

काठमाडौँ । पर्यटन क्षेत्रमा भएका समस्या समाधानका लागि पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको ध्यानाकर्षण गराइएको छ । कर्णाली पर्यटन उद्यमी समाजको संयोजकत्वमा शुक्रबार बिभिन्न मागसहित मन्त्रीको ध्यानाकर्षण गराइएको हो ।

समाजका अध्यक्ष देविकृष्ण रोकायाको नेतृत्वमा कर्णालीमा हवाई समस्या समाधान, हिमालहरूको आरोहणको प्रबन्ध मिलाउनुपर्ने लगायतका माग राखी मन्त्रीको ध्यानाकर्षण गराइएको समाजले जनाएको छ । ‘कर्णाली क्षेत्रमा लामो समययता हवाई उडानमा समस्याका बारेमा मन्त्रीलाई अवगत गराएका छौ ।’ अध्यक्ष रोकायाले भने ‘हवाई समस्या समाधान सहित कर्णालीको प्रवर्द्धनका लागि आवश्यक अरू कुरामा आफू प्रतिबद्ध भएको कुरामा मन्त्रीज्यूको प्रतिबद्धता छ ।’

समाजका पूर्व अध्यक्ष जगं बहादुर लामा सहितका पदाधिकारीहरूले कर्णाली क्षेत्रमा भएका हिमालहरूमा सहज रूपमा आरोहणका लागि परमिट दिनुपर्ने व्यवस्था गरिनुपर्ने माग राखेका थिए । ‘कर्णाली प्रदेशमा कयौँ हिमालहरू भए पनि हिमाल आरोहणका लागि सामूहिक रूपमा मात्र परमिट लिने व्यवस्था हाल कायम छ । सामूहिक रूपमा मात्र नभएर पर्यटक एक्लैले पनि परमिट लिन पाउने व्यवस्था आवश्यक छ ।’ लामाले भने ‘यो समस्या समाधान गर्न सकिएको खण्डमा कर्णालीका हिमालमा पनि मानिसहरूको आकर्षण हुनेछ ।’

कर्णाली प्रदेशको पर्यटन विकासको गुरुयोजना निर्माण गरी कार्यान्वयन पर्नुपर्ने, पर्यटकीय गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय स्तरमा बजारिकण गरिनुपर्ने, पदमार्गहरूको पहिचान तथा प्रवर्द्धन गर्नुपर्ने, जलयात्रालगायतका अन्य साहसिक पर्यटनका लागि सम्भावना अध्ययन गरिनुपर्ने, विमानस्थलको स्तरोन्नति, प्रदेश राजधानी सुर्खेतबाट अन्य जिल्लाहरूमा हवाई उडान गर्नुपर्ने, वैज्ञानिक रूपमा भाडा समायोजन गरिनुपर्नेलगायतका मागहरू मागपत्रमा उल्लेख छन् । भेटमा मन्त्री किराँतीले मागहरू कार्यान्वयनका लागि र समस्या समाधानका लागि आफू तत्पर भएको उल्लेख गर्दै केही समस्या समाधानका लागि तत्काल तल्लो तहलाई निर्देशन समेत दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here