ज्योतिष शिक्षणमा प्रविधिको प्रयोग विषयक दुई दिने कार्यशाला गोष्ठी सुरु

31

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयअन्तगर्ततको वाल्मीकि विद्यापीठमा ज्योतिष शिक्षणमा प्रविधिको प्रयोग विषयक दुई दिने कार्यशाला गोष्ठी बिहीबार ११ गतेदेखि सुरु भएको छ  ।

वाल्मीकि विद्यापीठ ज्योतिष विभागको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयका आङ्गिक क्याम्पसमा ज्योतिष विषयमा प्राध्यापनरत प्राध्यापक, त्रिवि संस्कृत विभाग, यौगिक साइन्स मास्टर्स प्रोग्राम, गणित आदि विभागका प्राध्यापक, महर्षि वैदिक फाउण्डेसन र नेपाल ज्योतिष परिषद् आदि संस्थाका ज्योतिषका अनुसन्धाता र अध्येयता एवं उच्च शिक्षामा  अध्ययनरत संस्कृतका विद्यार्थी गरी १२५ जनाको सहभागिता  छ ।

विश्वविद्यालयको नयाँ पाठ्यक्रममा केन्द्रित भई ज्योतिषको पठनपाठनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले आयोजित गोष्ठीमा शिक्षणमा आधुनिक प्रविधिको उच्चतम उपयोग गर्नुपर्ने जीवनपद्धतिमा रहेको र समाजले रुचाएको ज्योतिषीय ज्ञानलाई व्यापक बनाउनुपर्ने र प्रयोगात्मक सिकाइलाई पनि जोड दिनुपर्नेलगायतका विषयमा विज्ञका ५ वटा कार्यपत्र प्रस्तुत भएका थिए ।

वाल्मीकि विद्यापीठ ज्योतिष विषयका विभागाध्यक्ष प्रा.डा. धनेश्वर नेपालको सभापतित्वमा आयोजित उद्घाटन सत्रको कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको प्रमुख आतिथ्यता थियो ।

समारोहका प्रमुख अतिथि प्रा.डा. अधिकारीले संस्कृतभित्र लुकेको विशाल ज्ञान राशि र यसका वैज्ञानिक र प्राविधिक पक्षलाई बाहिर प्रकट गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

संस्कृत शिक्षाको विकासप्रति सबैको सद्भाव रहेको र सरकार पनि संस्कृतमैत्री रहेकाले संस्कृत विद्यामा रहेको ज्ञान राशिलाई हरेक विभाग र विद्यापीठले बाहिर ल्याउनुपर्छ, अनुदान आयोग त्यसमा हरेक किसिमबाट सहयोग गर्न तयार छ ।

नेसंविका  प्रा.कुलसचिव माधव अधिकारी, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकाल, त्रिवि यौगिक साइन्स मास्टर्स प्रोग्रामका प्रमुख प्रा.डा. नारायण गौतमलगायतका वक्ताले ज्योतिषको अध्ययन‑अध्यापनलाई गुणात्मक रूपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here