–लोकनारायण सुबेदी
सम्भवतः इतिहास अध्ययनको सबैभन्दा महत्वपूर्ण पक्ष त्यसलाई बर्तमान र भबिष्यको लागि पनि महत्वपूर्ण शिक्षा लिन प्रयुक्त गर्नु नै हो । त्यसमा हामी कुन ठूलो कमजोरी र गल्तीबाबट बच्न सक्छ सकिन्छ र कस्तो प्रेरणा प्राप्त गर्न सकिन्छ भन्ने कुरा अन्तरनिहीत रहन्छ । धेरै इतिहासका ज्ञाताहरु आजकल के तथ्यलाई स्वीकार गर्दछन् भने जस्तो किसिमले इतिहासलाई सामान्यरुपमा पढाइयो र चर्चित तुल्याइयो त्यसमा गम्भीर समस्या रहेकाछन् । त्यसबाट त न इतिहासलाई सही अर्थमा बुझ्न सकिन्छ त आवश्यक शिक्षा नै लिन सकिन्छ । इतिहासलाई प्रायः प्रमुख राजा महाराजाहरु, साम्राज्यका कृयाकलापहरु, युद्धहरु र तिनको उदय र अस्त आदिकारुपमा प्रस्तुत गर्ने गरिदै आयो । त्यसमा राजमहल र युद्धस्थलबाट हटेर सामान्य जनजीवनमाथि उचित ध्यान दिइएकको पाइदैन । यस कमजोरीलाई हटाउने प्रयासस्वरुप बितेका केही बर्षदेखि काम गर्न थालेको र सामान्य जनजीवनका बारेमा इतिहासकारहरुले केही महत्वपूर्ण पक्ष उजागर गर्न थालेको देखिन्छ । जसमा किसान, मजदुर श्रमजीबी बर्गको स्थितिका बारेमा, तिनको संघर्षको बारमा केही उल्लेखनीय कार्य हुन थालेको देखिएको छ ।आर्थिक सामाजिक बिषमतका बारेमा केही राम्रा जानकारीहरु प्राप्त हुन थालेका छन् । यति हुँदा हुदै पनि जुन इतिहास बिद्यार्थीहरुलाई समान्यता पढाइने गरिन्छ त्यसमाथि इतिहासको यो परिबर्तनको समुचित प्रभाव परेको देखिदैन । सबै किसिमका अध्ययन अनुसन्धानको अन्तिम उदेश्य त कुनै न कुनै रुपमा एउटा सुन्दर र राम्रो तथा सद्भावपूर्ण एबं सुरक्षित समाज निर्माण गर्नु नै हुनु पर्दछ । यदि यस दृष्टिले हेर्ने हो भने कुनै पनि क्षेत्रको इतिहासलाई महत्वपूर्ण बिषय यिनले बनाउँदछन् ।
इतिहासको कुनै कालखण्डमा आपसी भाइचारा, समन्वय–सम्झौता तथा परस्पर सहयोगको माहोल अधिक सबल रहेको पाइन्छ त्यो कुन कारणले गर्दा हो । कुनै समयमा मानिसले केवल समृद्धि मात्रै होइन सन्तोषलाई पनि समुचित महत्व प्रदान गर्यो । कुन समयमा न्यायको जीवन–मूल्यलाई अधिक महत्व मिल्यो, कुन कालखण्डमा उच्च आदर्शबाट प्रेरित भएर मानिस ब्यापक जनहितका मुद्दाहरुका लाागि अधिक अगाडि सरे । कुन समयमा मानिसहरुले बोट बिरुवा, जीव जन्तु आदिको रक्षाका लागि संबेदनशीलता र अग्रसरता देखाए । कुन समयमा मानिसहरुले भावी पिढीको, भबिष्यको लागि बढी ध्यान केन्द्रित गरे । यी ज्यादै महत्वका सबैभन्दा ठूलो सरोकारका बिषयहरु हुन् जसले यो हामी बसोबास गरेको धरतीको दुःख दर्दलाई हटाउने र मेटाउने काम गर्दछन् । बास्वतमा जब समाजमा भाइचार, सहयोग, न्याय र करुणा जस्ता कुरालाई जीवन मूल्यलाई सबल तुल्याइन्छ तब मात्रै सामाजिक दुःख दर्द कम भएर जान्छन् । यदि हामीले इतिहासको अध्ययनबाट यो बुझ्न सक्यौ भने कि समाजमा कुन समयमा यी जीवन मूल्यहरु निकै सबल बने तथा यस्तो महोल बन्नमा कुन कारणहरु, प्रेरकहरुको मूख्य भूमिका रहेको थियो त्यो नै इतिहासको सबैभन्दा मूल्यबान योगदान हुनेछ ।
त्यसो त यो पृथ्बीमा लाखौ प्रकारमा प्राणीहरु छन् तर केवल मानिसमा नै यो अद्वितीय क्षमता रहेको छ कि उसले सबै जीबजन्तु तथा प्रकृतिको रक्षाका बारेमा योजनाबद्ध किसिमले सोच्न सक्छ र अनुकूल तथा उपयुक्त कदम उठाउन सक्दछ । इतिहासको कुन काल खण्डमा मानिस यस प्रकारको भूमिकाको सबैभन्दा निकट पुग्न सक्यो र यसका लागि कहाबाट प्रेरणा प्राप्त गर्यो भन्ने् कुरा शायद इतिहासको सबैभन्दा अहं बिषय हुन सक्तछ । कतिपय मानिसहरु प्रगतिको आकलनलाई यस्तो बिस्तार नदिएर केवल मानसिको आफ्नो स्थितिको आधारमा आकलन गर्ने गर्दछन् । यसमा पनि उनीहरु केवल मानिसहरुको सुख–सुबिधाहरु, आय–सम्बृद्धि आदिकुलाई नै मात्र चर्चा गर्ने गर्दछन् । तर जबसम्म यी कुराहरुमा सन्तोष, समता, न्यया अदि अत्यन्तै आवश्यक जीवन–मूल्यहरुलाई जोडिदैन तबसम्म कुनै मनुष्य–केन्द्रित सही आकलन मात्र पनि पूरा हुन सक्तैन ।
सर्सरी नजर लगाउँदा आजभन्दा छ सय बर्ष पहिलासम्म अमेरिकी महाद्विपमा त्यहाँका मूल निवासीहरुको सदियौं पुरानो बिकसित सभ्यता थियो । त्यसका केही बहुतै प्रेरणादायक जीवन–मूल्यहरु पनि चर्चित रहेका छन् । धेरै हदसम्म त्यस्तै स्थिति अष्ट्रेलिया महाद्विपको पनि रहेको हो, जहाँ अतिक्रमणकारी र आक्रामक यूरोपबासीहरु आए पछि त्यहाँका आदिबासीको त्यो मूल्य धेरै नै कम मात्र बचेर रहनसक्यो । त्यसपछिको त्यहाँको इतिहास मूलतः बाहिरी आगन्तुक मानिसहरुको इतिहास बनेर रहन गएको हामी पाउँदछौं ।
आज त्यो क्षेत्र आधुनिक बिकासको चकाचौंधको प्रतीक बनेको पाइन्छ । तर यदि कसैले यो प्रश्न उठायो भने कि त्यहाँका मूल निवासहरुको इतिहास के हो त्यसको उत्तर यही हुनेछ कि त्यो इतिहासलाई ठूलो मात्रामा संहार गरियो र बाँकीलाई यत्तिका धेरै अत्याचार सहनुपरेको थियो कि त्यहाँका मूल निवासी प्राय पूर्णरुपले लुप्त प्राय हुन पुगे र कोही यता उता बाचेका भए पनि अत्यन्तै नराम्रो अबस्थामा मात्र भेटिएको इतिहास छ । मानिसको प्रगतिको आकलन यस आधारमा हुन सक्तछ कि ऊ समाजको दुःख दर्द कम गर्ने दिशामा कत्तिको सचेत रह्यो अनि मानिसलाई कति बेला सबैभन्दा सन्तोषको अनुभव भयो । कुन बेला न्यायिको भावनाबाट प्रेरित भएर मानिस ठूलो त्यागका लागि अधिकसंख्यामा तयार भए ? यस किसिमका प्रश्नहरुको जवाफ हामी खोजि गरिरहन्छौ भने आजको बर्तमान समयका लागि पनि निकै नै महत्वपूर्ण शिक्षा प्राप्त गरिरहेका हुन्छौं । यस प्रयासको एउटा अर्को महत्वपूर्ण पक्ष के हुनेछ भने हामीले आफ्नो इतिहासमाथि दृष्टिपात गरेर हेरौं र कहिले कहिले यस्ता महत्वपूर्ण मूल्यहरुको अनुरुप सशक्त अफवाहहरु हाम्रो देश या समाजमा उठे । तिनको के कस्ता बिशेषताहरु रहे, जसको आवाज यत्तिका गहिरो थियो कि त्यसले लाखौ मानिसहरुलाई प्रभावित तुल्यायो ।
यस सन्दर्भमा हामीले छिमेकी देश भारतको बिद्वानहरुले इतिहासको खोजी गर्दा यस्ता चार कालखण्ड देखेको पाइन्छ । पहिलो यसमा इशाको छैठौ शताब्दीको अर्थात् आजभन्दा २६०० बर्ष अघिको समय भनिएको छ । त्यतिबेला गंगाको मैदानमा या त्यसकै वरिपरी अनेक सुधारबादी, धार्मिक सम्प्रदायको जन्म भयो, जसले त्यतिबेला प्रचलित कुरीतिहरुको बिरोध गर्दै सादा जीवन, अहिंसा, मेलमिलाप र समानताको उच्च सन्देश दिएका थिए । तिनमा दुइ सम्प्रदायको इतिहासको स्थाई प्रभाव बौद्ध र जैन धर्मकारुपमा भएको थियो । अर्को समय आजभन्दा करीब २२५० बर्ष पहिलाको समय मानिएको छ जतिबेला भारतका सम्राट अशोकले कलिंग–युद्धपछि बहुतै शक्तिशाली सेना भएर पनि आक्रमण र बिजयको नीतिलाई पूर्णरुपले त्यागिदिए र त्यसको साटो धर्म बिजयको बाटो पक्रिए । अनि यसरी अहिंसाको बाटो हिड्दै उनले देशमा अद्भूत राजनीतिक एकता स्थापित गरे । भारतको इतिहासमा यस्तो तेश्रो ऐतिहासिक कालक्रम तेह्रौं र सोह्रौं शताब्दीको भक्ति र सूफी आन्दोलनलाई लिन सक्छि जसलाई हामीले आध्यात्मिकताको गहिराईमा उत्रेर जीवनको सार्थक समझदारी बनाउने दृष्टिले देख्न सक्छौं । दक्षिण भारतमा यो भक्ति लहर त्यसभन्दा पहिला नै देखिएको थियो । प्रचलित सामाजिक कुरीतिहरु र तिनलाई पोषण गर्ने निहीत स्वार्थहरुका बिरुद्ध बहादुरी र दिल दिएर गरेका बिद्रोहको दृष्टिले हेर्दा समुदायहरुद्वारा एक अर्कालाई जान्ने बुझ्ने तथा भाइचारापूर्बक रहने हिसावले हेर्दा हरेक दृष्टिले त्यो निकै प्रेरणास्पद समय लाग्दछ । भारतको इतिहासको चौथो त्यस्तो महत्वपूर्ण कालखण्ड बृटिश औपनिवेशिक शासनका बिरुद्ध स्वाधीनताको लडाईंको कालखण्ड हो जुन संघर्षसँग समाज सुधारका अनेक आन्दोनलहरु पनि अनिवार्यरुपले जोडिएको पाइन्छ । एउटा पबित्र र अत्यन्तै आवश्यक उदेश्यको प्राप्तिका लागि कति धेरै बलिदान दिन सकिन्छ, कति धेरै कष्ट सहन सकिन्छ, कति असंभव लाग्ने चूनौतिहरुलाई स्वीकार गर्न सकिन्छ, कत्तिको अथक प्रयास गर्न सकिन्छ यस प्रकारका अत्यन्तै हिम्मत पैदा गर्ने खालका अनेकौं उदाहरणहरु त्यस कालखण्डमा खडा भए र कायम रहे ।
यसरी यदि हामीले इतिहासको अध्ययनबाट यो कुरा बुझ्न सक्यौं भने कि समाजमा कुन कालखण्डमा मानबीय जीवन–मूल्यहरु बहुतै सबल बने अनि त्यस प्रकारको माहोल तयार पार्न कुन कारण, प्रेरक तत्वहरु र उत्प्रेरकहरुको मूख्य भूमिका रह्यो तब इतिहासको सबैभन्दा बढी मूल्यबान योगदानलाई बुझ्न सक्छौं ।

















