नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ। आज साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको ‘बिजनेस समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गर्नुभएको हो।
सरकारले नीतिगत कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको र लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको बताउनुभयो। उहाँले सरकारले लगानीकर्ताको हितका लागि एकल बिन्दु सेवा केन्द्र, लगानीमैत्री कानुन तथा विशेष आर्थिक क्षेत्र निर्माण गरेर धेरैभन्दा धेरै सहजीकरण गरेको उल्लेख गर्नुभयो।
भारतीय कम्पनीको लगानी रहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना सफल रूपमा अन्तिम चरणमा पुग्न लागेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले पश्चिम सेती, सेती नदी (एसआर ६), तल्लो अरुणलगायतका आयोजनाले दुवै देशको अधिकतम हित गर्ने बताउनुभयो। उहाँले नेपाल र भारतबिचको सम्बन्ध कोही कसैसँग तुलना नै हुन नसक्ने स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास र नेपालको समुन्नतिका लागि आफूहरू मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतका सङ्घीयमन्त्री पीयूष गोयलले नेपाल र भारतबिचको सम्बन्ध अद्वितीय रहेको बताउनुभयो। सीमा, भूराजनीतिले दुई देशबिचको सम्बन्धलाई विभक्त गर्न नसक्ने उल्लेख गर्दै उहाँले आफूहरू एकै परिवारका सदस्यका रूपमा रहेको बताउनुभयो। उहाँले भारतीय प्रधानमन्त्रीले अगाडि सार्नुभएको छिमेक पहिले नीतिका साथ नेपाल र भारतबिच साझा दृष्टिकोणका साथ समृद्धिको यात्रामा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
भारतका लागि नेपालका राजदूत
भारतीय उद्योग परिसङ्घका सभापति आर दिनेशले नेपाल र भारतका उद्योगी व्यवसायीबिच साझा दृष्टिकोण निर्माण गरेर अगाडि बढ्न छलफल महत्वपूर्ण भएको बताउनुभयो। रमेश लम्साल (रासस)

















