काठमाडौं । स्पेनी रेफ्री अन्तोनियो मातेउ लाहोसले संन्यास लिएका छन् । आइतबार मालोर्का र रायो भालेकानोबीचको खेल उनले खेलाएको अन्तिम खेल बन्यो । खेल सकिएपछि पूरा रंगशाला उनको सम्मानमा उभियो ।

दुवै टिमका खेलाडी र अफिसियलले पनि सम्मान व्यक्त गरे । सन् २००८ देखि लालिगामा रेफ्रीका रूपमा रहेका उनको आइतबारको बिदाइ भावुकसमेत देखियो । उनी आफै निकै भावुक देखिन्थे । खेल सकिएपछि उनी खेलाडी र दर्शकलाई समेत अँगालो हाल्दै रोएका थिए । उनको अन्तिम खेल हेर्न परिवारका सदस्यसमेत रंगशालामा उपस्थित थिए । खेल सकिएपछि उनी मैदानबाट बाहिरिँदै दुइटा साना छोरालाई अँगालो हाल्न पुगेका थिए ।
४६ वर्षीय लाहोसले सन् १९९९ बाट रेफ्रीका रूपमा काम सुरु गरेका हुन्। स्पेनी फुटबल समर्थकबीच उनी लोकप्रिय भने छैनन् । उनीमाथि खेललाई अगाडि बढाउन भन्दा पनि खेललाई जानीजानी अराजकतातर्फ लैजाने गरेको आरोप लाग्ने गरेको थियो । खेलाडीहरूलाई एकअर्कामा उत्रिन दिएर विवादास्पद निर्णय गर्ने गरेको पनि उनीमाथि आरोप छ ।
यसले खेलको भन्दा आफ्नो बढी चर्चा हुने गरेकाले लाहोसले त्यस्तो निर्णय गर्ने गरेको स्पेनी खेलसमर्थकहरूको भनाइ छ । यसैको एउटा उदाहरण हो, कतार विश्वकपअन्तर्गत अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सको खेल। लुसैल रंगशालामा भएको अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सको क्वार्टर फाइनललाई एउटा खराब खेलको रूपमा पनि सम्झिने छ । रेफ्री लाहोसले सुन्दर खेल कायम राख्न सकेनन् वा नियन्त्रणमा राख्न सकेनन् भनिन्छ। उनले १८ पहेंलो कार्ड देखाए । दुई पहेंलो कार्ड (रातो) पाउने एकमात्र खेलाडी डेन्जेल डेम्फ्रिस रहे । त्यो पनि टाइब्रेकर सकेपछि ।
अर्जेन्टिना र नेदरल्यान्ड्सविरुद्धको विवादास्पद खेलपछि भने उनलाई फिर्ता पठाइएको थियो । उनले समूह चरणमा अमेरिका र इरान तथा कतार र सेनेगलबीचको खेलसमेत खेलाएका थिए । पहिलो दुई खेलमा उनले ८ वटा पहेँलो कार्डसमेत देखाए ।
विश्वकप मात्र होइन, पटक-पटक उनले आफ्नो निर्णयविरुद्ध प्रोटेस्ट गर्ने खेलाडीलाई कार्ड देखाएका छन् । यसमानेमा उनी कार्ड देखाउने मामिलामा ‘निकै उदार’ थिए । सन् २०११ देखि २०२३ सम्म फिफा रेफ्री रहेका उनले २०१४ को विश्वकप छनोटका खेलहरू पनि खेलाए । त्यस्तै २०१६ को ग्रीष्मकालीन ओलम्पिक, २०१८ को विश्वकप छनोट र विश्वकप तथा २०२२ को विश्वकप खेलाएका थिए ।
त्यस्तै सन् २०१८ को च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा उनले म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल पनि खेलाए । सिटीलाई गोल नदिएपछि प्रशिक्षक पेप ग्वार्डिओलाले रेफ्रीविरुद्ध बोलेका थिए । दोस्रो हाफमा रेफ्री लाहोसले उनलाई कार्ड देखाउँदै बाहिर पठाइदिए । २०२१ को च्याम्पियन्स लिग फाइनलमा सिटी र चेल्सीको खेलमा पनि उनी नै मुख्य रेफ्री थिए ।
गत वर्षको डिसेम्बरमा ला लिगामा बार्सिलोना र इस्पानियोलबीचको खेलमा ३ मिनेटभित्र ३ वटा रातो कार्ड देखाएर समेत रेफ्री लाहोस चर्चामा आएका थिए । त्यसपछि बार्सिलोनाका व्यवस्थापक जाभीले भनेका थिए, ‘ उनी यस्ता रेफ्री हुन् जसले खेलमा दबाब र नियन्त्रण राख्छन् । उनले अर्थहीन कार्ड देखाए । उनी शान्त हुनुपर्थ्यो । उनले खेललाई नियन्त्रणबाहिर लगे।’
















