काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समय नदिएपछि राष्ट्रिय सभाको मंगलबार बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको छ।
जेठ १७ गतेदेखि २१ गतेसम्म भएको भारत भ्रमणबारे र नागरिकता विधेयकबारेमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितले जवाफ माग गरेका थिए।
प्रधानमन्त्री खप्तडतिर लाग्ने भएपछि संघीय संसद्का महासचिव डा. भरतराज गौतमले अन्तिम समयमा सूचना निकालेर बैठक स्थगित गरेका हुन्। राष्ट्रियसभाको बैठक आज बिहान ११ बजेर ११ मिनेटमा बस्ने गरी निर्धारण गरिएको थियो।
‘प्रधानमन्त्रीले समय नदिएर राष्ट्रियसभाको बैठक बस्न सकेन। अन्तिममा स्थगित गर्नुपर्यो’, संघीय संसद् सचिवालयका एक अधिकारीले भने, ‘उहाँले सोमबार नै प्रतिनिधिसभामा जवाफ दिनु भयो। तर राष्ट्रियसभालाई उहाँले उपेक्षा गरे जस्तो भयो।’
मंगलबारको बैठकमा प्रधानमन्त्रीले जवाफ दिएको भए बैठक अघि बढ्न सक्थ्यो। संसद् सचिवालयले मङ्गलबार बिहान ११:११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बुधवार बिहान ११:११ बजे बस्ने गरी सारिएको संघीय संसद्का महासचिव गौतमले जानकारी दिए।



















