पर्सिदेखि काठमाडौंमा रिले अनशन

77

 

पर्वत । बाहिरी वातावरणको तापक्रम करिब ३७-३८ डिग्री सेल्सियस रहेको छ। चर्को गर्मी सहन नसकेर होला पर्वत सदरमुकाम कुश्मा बजारमा दिउँसोको समयमा पैदल यात्री खासै देख्न पाइँदैन। सवारी साधनहरू पनि सकेसम्म चलाइँदैनन्। फुर्सदमा भएकाहरू गर्मी छल्नका लागि पायकको स्थानमा रहेको खोलानालामा पौडी खेल्ने, कोही एसी र पङ्खामा त कोही चौतारीको छहारीमा बसेका भेटिन्छन्।

तर सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरू (लेखापाल र कार्यालय सहयोगी) खपीनसक्नुको गर्मीमा पनि र्‍यालीमा हिँडिरहेका छन्। आफ्ना विभिन्न मागहरूको सुनुवाइ नभएपछि उनीहरू यही गर्मी सहेर पनि दैनिक धर्ना सहित शुक्रवार र्‍यालीमा सहभागी भएका छन्।

गर्मीले रातो भएको अनुहारमा पसिना निकाल्दै उनीहरूले सरकारका विरुद्ध नाराबाजी गरे। विद्यालय कर्मचारीका समस्याहरू तल्लो तहदेखि उपल्लो तहमा रहेकाहरूले पनि थाहा पाउन सकुन् भन्ने उद्देश्यले उनीहरूले गर्मी सहेरै भए पनि सदरमुकाम कुश्मा बजारको फन्को लगाए।

सरकारसँग विगतमा पटक पटक सम्झौता हुँदा माग पूरा गर्ने आश्वासन दिए पनि सरकारले माग पूरा नगरेको भन्दै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू फेरि आन्दोलित भएका छन्। गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको बजेट वक्तव्यमा  आफूहरूको मागको केही न केही सुनुवाइ हुने बसेको भए पनि सरकारले उनीहरूको मागको सम्बोधन नगरेपछि आन्दोलन फेरि सुरु भएको हो।

विद्यालय कर्मचारीका रूपमा कार्यरत लेखापाल र कार्यालय सहयोगीले विद्यालयका चाबी प्रधानाध्यापकहरूलाई बुझाएर आफूहरू गत जेठ २१ गतेदेखि दैनिक रूपमा शिक्षा विकास तथा समन्वय इकाईको मूल गेटमा पुगेर धर्नामा बस्दै आइरहेका छन्।

परिषद्को केन्द्रीय समितिको निर्णयले आन्दोलनको पहिलो चरणमा हरेक जिल्लामा धर्ना दिने कार्यक्रम तय गरेको थियो। जुन शुक्रवार शिक्षा विकास तथा समन्वय इकाईबाट निकालिएको र्‍यालीले बजार परिक्रमा गर्दै पुन सोही कार्यालयको गेटमा पुगेर कोणसभा गर्दै समापन भएको छ। अब दोस्रो चरणमा जेठ २८ गतेदेखि असार एक गतेसम्म काठमाडौंस्थित भद्रकालीमा रिले अनसन बस्ने तयारी छ। चम्चाले थाल ठटाउँदै र्‍याली निकालेर अनसनमा बस्ने दोस्रो चरणको आन्दोलनको पनि सुनुवाइ नभएमा तेस्रो चरण अन्तर्गत असार दुई गतेदेखि माग पूरा नहुने बेलासम्म सबै सामुदायिक विद्यालयहरू बन्द गरिदिने चेतावनी कर्मचारीहरूले दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here