जीएसआई र जीसीआईमा सहभागी हुन चीनले नेपाललाई स्वागत

59

बेइजिङ । आफूले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसियटिभ (जीसीआई) मा सहभागी हुन चीनले नेपाललाई स्वागत गरेको छ। चीन औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग सोमबार जनबृहत् सभाहलमा भेटवार्ता गर्दै चिनियाँ  राष्ट्रिय जनकंग्रेस (एनपीसी)का स्थायी समिति अध्यक्ष चाओ लचीले यस्तो धारणा राखेका हुन्।

ग्लोबल विकास पहल (जीडीआई) मा नेपालले देखाएको सक्रिय प्रतिक्रिया र समर्थनको प्रशंसा गर्दै अध्यक्ष चाओले भने, ‘जीएसआई र जीसीआईमा नेपाललाई स्वागत छ। नेपालको समर्थन र सहभागिता चाहन्छ। क्षेत्रीय मात्रै नभएर विश्वको शान्ति, स्थिरता र समृद्धिका लागि सहकार्य गरौं।’

चाओले शान्तिपूर्ण विकासको मार्गमा चीनको अडिग प्रयासबारे व्याख्या गर्दै छिमेकी देशहरूसँगको मैत्री, इमान्दारिता, पारस्परिक लाभ र समावेशीताको कूटनीतिक अवधारणाप्रति अडिग रहेको बताए।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक भ्रमण गरेको र दुई देशका नेताहरूले चीन-नेपाल सम्बन्धलाई विकास र समृद्धिका लागि पुस्तादेखि पुस्तासम्मको मित्रताको रणनीतिक साझेदारीमा उचालेको पनि चाओले स्मरण गरे।

सिन्ह्वा समाचार समितिका अनुसार भेटवार्ताका क्रममा दुई देशका नेताहरूबीच भएको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगलाई प्रगाढ बनाउन र चीन र नेपालबीचको साझा भविष्यको समुदायको निर्माणलाई प्रवर्द्धन गर्न चीन नेपालसँग काम गर्न इच्छुक रहेको अध्यक्ष चाओको बताए।

नेपाली पक्षले सधैं एक चीन नीतिप्रति दृढ रहेको भन्दै उनले चीनको मूल हित र प्रमुख चासोका विषयमा चीनलाई बहुमूल्य सहयोग प्रदान गरेको र कुनै पनि शक्तिलाई नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिबद्धताप्रति चिनियाँ पक्षले प्रशंसा गरेको बताए।

नेपाल सरकार र जनताले आफ्नै राष्ट्रिय परिस्थिति अनुसार रोजेको विकास मार्गलाई सम्मान गर्ने बताउँदै अध्यक्ष चाओले बीआरआईमा भइरहेको सहकार्यले फलदायी नतिजा हासिल गरेको बताए। दुवै पक्षले सडक, रेलमार्ग, हवाई यातायात, बन्दरगाह र पावर ग्रिडजस्ता पूर्वाधार परियोजनाहरूको निर्माण र मर्मत सम्भार गर्नुपर्छ भन्दै उनले हिमालयपार त्रि-आयामिक अन्तरसम्बन्ध सञ्जाल निर्माण कार्यलाई जारी राख्नुपर्ने र व्यापार, लगानी, औद्योगिक पार्क र नयाँ ऊर्जामा सहयोगलाई गहिरो बनाउनुपर्नेमा जोड दिए।

एनपीसीका अध्यक्ष चाओका अनुसार चीन र नेपालको व्यवस्थापिकाले सधैं राम्रो आदानप्रदान गरेका छन्। चिनियाँ राष्ट्रिय जनकंग्रेसले चीन-नेपाल मैत्री सहयोगको सामाजिक र जनमतको आधारलाई सुदृढ गर्न, द्विपक्षीय सम्बन्धको विकासका लागि आदानप्रदानलाई सुदृढ पार्न इच्छुक उनले बताए।

भेटमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले नेपालको एक चीन नीतिप्रतिको प्रतिवद्धता दोहोर्याए। उनले कुनै पनि शक्तिलाई नेपाली भूमि चीन विरोधी गतिविधिमा गर्न प्रयोग गर्न नदिइने जानकारी दिए। ‘बेल्ट एण्ड रोड’ को संयुक्त निर्माणले नेपालमा ठोस विकासको नतिजा ल्याएको उनको भनाइ थियो। चीनको राष्ट्रिय जन कांग्रेससँग मैत्रीपूर्ण आदानप्रदानलाई सुदृढ गर्न र दुई देशबीच पूर्वाधार, व्यापार, पर्यटन, शिक्षा जस्ता विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने कुरामा राष्ट्रिय सभा सक्रिय भूमिका खेल्न इच्छुक रहेको उनले बताए।

चीनको औपचारिक भ्रमणमा आएका राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाले राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन सीपीपीसीसीका अध्यक्ष वाङ हुनिङसँग भेटघाट गर्नुका साथै तिब्बतको ल्हासामा आयोजना हुने पाँचौँ चीन-तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा भाग लिने र शाङ्हाई भ्रमण गर्ने कार्यक्रम छ।

भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्यहरु जीवन परियार, धवल शमशेर राणा, प्रदीप यादव तथा राष्ट्रिय सभाका सदस्यहरु उदयबहादुर बोहरा, दिपा गुरुङ र हरिराम चौधरी एवं अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद सचिवालयका उपसचिव रामहरि थापा सहभागी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here