दुई बालक तीन महिनादेखि बेपत्ता

92

घोडाघोडी (कैलाली)। कैलालीमा दुई बालक तीन महिनादेखि बेपत्ता छन् । घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडको ९ कक्षामा अध्ययनरत दुई बालक एकै दिन बेपत्ता भएका हुन् । गत फागुन २५ गते सुखड बजारमा महोत्सव हेर्न गएका दुवै जना उक्त दिनदेखि लापत्ता भएको परिवारले जनाएका छन् ।

कोहलपुर पञ्चमुखी एकेडेमी विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुशील बस्नेत र राष्ट्रिय माध्यमिक विद्यालय सुखडमा कक्षा ९ मा अध्ययनरत तपशील जोशी साथीसाथी हुन् । सुशीलको बुबा नवराज बस्नेतले पहिलासँगै पढ्ने साथी भए पनि छोरालाई कोहलपुर होस्टेलमा राखेपछि उनीहरूको बिदाको समयमा घर आएकोबेला भेट भएको जानकारी दिनुभयो । दुवैजना महोत्सव हेर्न सुखड गए पनि साँझ छोरा घर नफर्केको बस्नेतले जानकारी दिनुभयो ।

“एक दुई दिन त साथीकोमा गयो कि भन्ने भयो । कतै नगएको जानकारी नभएपछि दुई दिनपछि फागुन २७ गते इलाका प्रहरी कार्यालय सुखडमा हुलिया कटायौँ” बस्नेतले भन्नुभयो, ‘‘प्रहरीबाट पनि कुनै खबर आएन, तीन महिना भयो, कहाँ छन् भन्नेसम्म थाहा पाए पनि ढुक्क हुने थियौँ ।”

बेपत्ता भएका छोराहरू लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारले छोराको खोजी गरिदिन अनुरोध गर्दै आएका छन् । सुशीलको आमा सुनिता बस्नेतले रुँदै भन्नुभयो, “मेरो छोरा जहाँ जाँदा पनि मसंगै जाने, मेरोपछि लाग्ने गर्दथ्यो, एक्लै कहीँ कतै गएको थिएन, अहिले कहाँ कुन अवस्थामा छ, कुनै सङ्कटमा पो छ कि, सम्पर्कमा मात्र आइदिए पनि हामी ढुक्क हुने थियौँ ।”

घोडाघोडी नगरपालिकाका १ सुखडका धनराज जोशीका दुई छोरामध्ये तपशील जेठा छोरा हुन् भने नवराज बस्नेतका तीन छोरामध्ये सुशील माइला छोरा हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here