राउते खोलाले बगाएर सब इन्जिनियरको निधन

63

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ गोगन स्थित राउते खोलाले बगाएर सोही गाउँपालिकामा कार्यरत सब इन्जिनियर मन्दिप राईको निधन भएको छ।

बुधवार परेको वर्षाका कारण गोगने–लेर्खक जोड्ने सडक खण्ड अन्तर्गत राउते खोलामा निर्माणाधीन पक्की पुलको पानी कटान गर्ने क्रममा बुधवार राती १२ बजे राईलाई खोलाले बगाएको प्रहरीले जनाएको छ।

वर्षाले पुलको जग र ढलान बगाउने भएपछि जोगाउन एक्स्काभेटर काम गर्दै गर्दा एक्कासि खोला बडेपछि खोला तर्न खोज्दा राईलाई बगाएको प्रहरीको धारणा छ। एक्स्काभेटर चालक सम्राट् केसी तत्काल हाम फालेर सुरक्षित स्थानमा गएका थिए।  राई भने हाम फाल्न नसके पछि खोलामा बगेको केसीको धारणा छ।

घटना लगतै प्रहरी चौकी पान्धारे र कोटबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजी गरी उनलाई बिहीबार बिहान साढे ६ बजे मृत अवस्थामा बाढीले बगाएको ठाउँभन्दा तीन किलोमिटर तल आधा पुरिएको अवस्थामा भेटेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर ल्याउने तयारी भइरहेको समेत प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here