काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले भारतका लागि नेपाली राजदूत शंकर शर्मालाई तत्काल नेपाल ल्याएर स्पष्टीकरण सोध्नुपर्ने जनाएका छन्।
सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद सुवालले राजदूत शर्माले देशको बारेमा विभिन्न टिकटिप्पणी गरेको भन्दै उनलाई नेपाल बोलाएर तत्काल स्पष्टीकरण सोध्नपर्ने जनाएका हुन्। उनले भने, ‘भारतका लागि नेपाली राजदूत शंकर शर्माले नेपालमा चीन कता छ र? जताततै भारत नै देख्छु, चीनको बीआरआईले लोन (ऋण) दिन्छ, सर्त पनि राम्रो छैन, ‘डेब्ट ट्र्याप’ मा पार्छन् भनेको र अखण्ड भारतको नक्साले कुनै इफेक्ट गर्ने कुरा रहँदैन भनेर जनाएको भनेर नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत बोल्नुभयो।’ उनले तत्काल राजदूतलाई परराष्ट्र मन्त्रालयले फिर्ता ल्याउनुपर्ने र स्पष्टीकरण सोध्नुपर्ने जनाएका हुन्।


















