बङ्गलादेशलाई ४० देखि ५० मेगावाट विद्युत् बेच्न तयारी

38

भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् आयात गर्ने भारतका प्रधानमन्त्री मोदीले नै बताएको प्रधानमन्त्री प्रचण्डले स्वदेश फिर्ता भएपछि बताउनु भएको थियो । यस्तै बङ्गलादेशमा बिजुली निर्यातका लागि भारतको बाटो प्रयोगको विषयमा पनि भारत सकारात्मक नै रहेको थियो ।

नेपालले बङ्गलादेशमा ४० देखि ५० मेगावाट विद्युत् निर्यात गर्नका लागि गृहकार्य भइरहेको प्रवक्ता भेटुवालले जानकारी दिनुभयो । वर्षाको बिजुली बङ्गलादेश बेच्नका लागि त्रिपक्षीय बैठक सम्पन्न भएको तर औपचारिक घोषणा भने हुन बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षा याममा नेपालको बिजुली बङ्गलादेशमा बेच्नका लागि लागि नेपाल,भारत र बङ्गलादेशको सचिव स्तरीय बैठक सम्पन्न भइसकेको छ । जसअनुसार ४० देखि ५० मेगावाटसम्म बिजुली निर्यात गर्न सकिने छ । तर, औपचारिक हस्ताक्षर भने हुन बाँकी  छ ।”

तत्काल नेपालको क्षमता पनि धेरै नभएकाले थोरै मात्रामा भए पनि बिजुली बेच्नका लागि प्रक्रिया थालिएको हो । वर्षा याममा बढी भएको बिजुली बेच्न सकियो भने करिब २५ अर्ब रुपियाँ नेपाललाई फाइदा पुग्ने मन्त्रालयले जनाएको छ ।

बङ्गलादेशमा विद्युत् व्यापारको लागि नेपालको विद्युत् प्राधिकरण, भारतको एनबिबिएन, बङ्गलादेशको बिबिटिबि तीन वटा निकायको बिचमा सम्झौता भएपछि मात्र विद्युत् व्यापारको औपचारिक प्रक्रिया पुरा हुने छ । हस्ताक्षरका लागि अहिले प्रसारण लाइनको क्षमता अनुसार तत्काल धेरै विद्युत् बेच्न सक्ने अवस्था नरहेको भेटुवालको भनाइ छ ।

नेपालले बङ्गलादेशलाई बिजुली बेच्नका लागि भारतको प्रसारण लाइनको प्रयोग गर्नुपर्ने हुन्छ । जसका लागि भारतको स्वीकृति आवश्यकता पर्छ । यसअघि नेपालले लिखु–४ बाट उत्पादित विद्युत् निर्यात गर्नका लागि प्रस्ताव पठाएको थियो ।

नेपालले हिउँदको समयमा भने विद्युत् आयात नै गर्नुपर्ने हुन्छ । तर, वर्षाको समयमा भने विद्युत् उत्पादन धेरै भएर खेर जाने अवस्था आउने गरेको छ । भेटवालले भन्नुभयो, “हिउँदको समयमा बिद्युत्को उत्पादन कम नै हुने गरेको छ । तर, वर्षाको पाँच महिनामा धेरै उत्पादन हुने भएकाले नेपालको माग पुरा गरी निर्यात गर्न सकिने अवस्था रहन्छ  ।”

नेपालको बिजुलीको कुल जडित क्षमता दुई हजार ४३० मेगावाट छ । उच्चतम माग सरदर एक हजार ६२८ मेगावाट रहेको छ । पहिलो चरणमा थोरै मात्रामा बिजुली निर्यात गर्न लागिएको भए पनि क्रमशः यसलाई बढाउँदै लैजान सकिने देखिएको भेटुवाल बताउनुहुन्छ । विष्णु पाण्डेयले गाेरखापत्रिकामा समाचार लेखेका छन् । गाेरखापत्र

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here